
काठमाडौं, पुस ७ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको वनस्थलीबाट ८ जना र ठिमीबाट एकगरी ९ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१५, वनस्थली बस्ने नुवाकोट, विदुर नगरपालिका–४ का १८ वर्षीय सुनम थापासहित तीन महिला र पाँच पुरुष गरी ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चोरीको घटनामा अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेका अनिल तामाङलाई सोधपुछ गर्नेक्रममा चोरीमा संलग्न रहेको खुल्न आएपछि अन्य व्यक्तिलाई टोखा नगरपालिका–९, संगमटोलबाट शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट रु ९५ हजार, ब्रासलेट एकथान, मंगलसुत्र एकथान, बेरुवा औंठी एकथान, मोबाइल ८ थान, घडी तीनथान र लागुऔषध गाँजा करिब ५०० ग्रामसमेत प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, चोरी गरी फरार रहेका एक व्यक्तिलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही पुस ३ गते हिम इलोक्ट्रोनिकमा भएको चोरीमा संलग्न सर्लाही, हरिपुर नगरपालिका–१ का २८ वर्षीय नबेन्द्रकुमार सिंहलाई पक्राउ गरेको हो ।
सिंहलाई चोरीमा प्रयोग गरेको बा१९च ३०८७ नम्बरको गाडी र ३२ इन्चको सामसुङ टीभीसहित बागबजारबाट पक्राउ गरिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्