
काठमाडौं, पुस ७ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको उपाधि जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १४ रनले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
उपाधिसँगै ललितपुरले २५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझायो ।
भैरहवा पुनः दोस्रोपटक उपविजेता बनेको हो । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो ।
ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाउनमात्र सक्यो ।
भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ३४ रन जोड्दा रवीइन्दर सिंहले २९ रनको योगदान गरे ।
यस्तै, कुशल मल्लले १६ रन जोडे भने कप्तान भेषावकर र रायन टेन डेसकाटे समान १४/१४ रन बनाएर आउट भए ।
ललितपुरका लागि ललितनारायण राजवंशीले ३ विकेट लिए । पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २/२ विकेट झारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा अलआउट हुनुपूर्व १५५ रन बनाएको थियो ।
ललितपुरका लागि जयकिशन कोल्शावालाले अर्धशतकीय इनिङ्स खेले । उनले ५२ बलमा ५७ रन बनाए ।
यस्तै, सन्दीप जोराले २४ रन जोड्दा गौरव तमोरले २३ रनको योगदान गरे । कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान मल्ल १० रन बनाएर पवेलियन फर्किए ।
भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । मोहम्द नाभिद र रायन टेन डेसकाटेले समान समान २/२ विकेट झारे ।
प्रतिक्रिया दिनुहोस्