
नेता दाहालले सोमबार सन्देशमार्फत् संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग सुरु भएको बताए ।
उनले सन्देशमा भनेका छन्–‘वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग सुरु भएको छ । यस ऐतिहासिक परिणामका लागि अथकरुपमा क्रियाशील नेकपा एमाले र नेकपा माओवादी केन्द्रका देशैभरिका नेता–कार्यकर्ता बधाइ र धन्यवादका पात्र हुनुुहुन्छ ।’
उनले अहिलेको विजयलाई गठबन्धनले परीक्षा र जिम्मेवारीकारुपमा लिने र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि थप क्रियाशील हुने जनाउँदै सोहीअनुसार अगाडि बढ्न वामपन्थी नेता, कार्यकर्ता र जनतालाई आग्रह गरेका छन् ।
उनले निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि धन्यवाद दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत दाहालले भने–‘अब सरकारबाट संविधानको मर्मअनुसार सहजरुपमा नयाँ सरकार निर्माणमा सहयोगकोसमेत अपेक्षा गर्दछु ।’
नवनिर्वाचित सांसद दाहालले आफू र आफ्नो पार्टीमाथि विश्वास गर्ने चितवन क्षेत्र नम्बर–३ का सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा बिनाभेदभाव चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक समृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याएका छन् ।
अध्यक्ष दाहाल कांग्रेससहितको राप्रपा प्रजातिन्त्रक गठबन्धनका नेता विक्रम पाण्डेलाई ९ हजार ३४१ मतले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्ष दाहालले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्