Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा


0
Shares

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्रचोकबाट सुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै मंगलबार साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुँदैछ ।

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगन्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुँदैछ ।

संयोजक सुवेदीकाअनुसार गाडी नरोकीकनै दाहालले गाडीमाथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ । मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिइरहेका छन् ।

सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् ।

वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीकाअनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र ‘क’ प्रदेशबाट निर्वाचित नेकपा एमालेका कृष्ण भूर्तेल र ‘ख’ प्रदेशबाट निर्वाचित नेकपा माओवादी केन्द्रका रामलाल महतो पनि सहभागी भएका छन् ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलोपटक निर्वाचन लड्न आएका हुन् । उनले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३२३ मतले पराजित गरेका थिए ।

दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए । रासस

Skip This