जो चर्चित भएर पनि पराजित भए • Image Khabar Image Khabar


जो चर्चित भएर पनि पराजित भए


Imagekhabar
२६ मंसिर २०७४, मंगलवार २०:३८

जो चर्चित भएर पनि पराजित भए

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो ।

विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्रा.डा.गोविन्दराज पोखरेल प्यूठानबाट पराजित भए । भारतका लागि नेपाली राजदूतसमेत रहेका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा.खगेन्द्र अधिकारी पराजित भए ।

राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित भएका हुन् ।

यस्तै, लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजकसमेत रहेका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित भए ।

त्यस्तै, विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुपर्‍यो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नम्बर–५ पुगेका डा.अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । ओलीले अर्धशतकको हाराहारीमा मत प्राप्त गर्दा अधिकारीले पराजय भोग्नुपर्‍यो । ओलीले सो क्षेत्रबाट ५७ हजार १३९ मत प्राप्त गरे ।

उता राष्ट्रिय रुपमा स्थापित व्यक्तित्वको छवि बनाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका प्रा.डा.पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित भए ।

पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्रा.डा.पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर मैदानमा खडा भएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका चक्रपाणि खनालसँग पराजित भए ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा उत्रीएका उपाध्यायले २८ हजार ८५३ मत ल्याए । सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गरे । आफू पराजित भएपछि विजयी उम्मेदवार खनाललाई बधाई दिँदै आगामी दिनमा पनि कपिलवस्तुको विकास निर्माणमा आफ्नो सक्रिय सहभागिता हुने प्रतिबद्धता उपाध्यायले व्यक्त गरेका छन् ।

उनले भने, ‘निर्वाचनमा होमिएपछि जीत–हार सामान्य प्रक्रिया हो । निर्वाचनले संविधान कार्यान्वयनको बाटो अघि बढेको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा बढ्छ भन्ने मेरो विश्वास छ ।’

जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर–१ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताएका छन् । मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको उल्लेख गरे । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भए ।

सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरे । मनाङबाट प्रदेशसभा ‘ख’मा उम्मेदवार भएका गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रीएका थिए । उनले १ हजार ४१० मत ल्याएर प्रदेशसभामा विजयी भए । उनका प्रतिस्पर्धी कर्म गुरुङले १ हजार २० मत प्राप्त गरे । उता फरक पृष्ठभूमिबाट राजनीतिमा आएका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गरे ।

सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गरे । आफूलाई जनताले विश्वास गरेको र वाम गठबन्धनको साथ र सहयोगले विजयी भएको सिलवालको भनाइ छ । मत परिणामलाई हेर्दा राजनीतिक कर्मभन्दा बाहिर रहेका एकाध उम्मेदवारमात्रै सफल भएको र अन्य धेरै भने असफल भएको देखिन्छ । तर, पराजित र विजयी हुने उम्मेदवारका भने आ–आफ्नै दाबी रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्