काठमाडौं, पुस ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुछारको न्यूरोड टिम (एनआरटी)ले पहिलो जित हासिल गरेको छ ।
नवौं चरणसम्म एक खेलमा बराबरी र बाँकी खेलमा हार व्यहोरेर अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको चारपटकको च्याम्पियन एनआरटीले पहिलो जित हासिल गर्नेक्रममा शुक्रबार जावलाखेल युथ क्लबलाई पराजित गर्यो ।
खेल एनआरटीले २–१ ले जितेको हो ।
एनआरटीका लागि खेलको ३४औं मिनेटमा कुआसी जिनले तथा ५७औं मिनेटमा सुशील लामाले एक/एक गोल गरे ।
५८औं मिनेटमा गोल गर्दै जावलाखेलका सुमन डंगोलले टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
मच्छिन्द्रको पनि पहिलो जित
मच्छिन्द्र क्लबले पनि जारी लिगमा पहिलो जित हासिल गरेको छ ।
शुक्रबारै ललितपुरको सातदोबाटोस्थित एन्फाको मैदानमा भएको पहिलो खेलमा मच्छिन्द्रले सरस्वती युथ क्लबलाई ४–२ ले हराएको हो ।
कप्तान विशाल राई, बसाडिया डाइमन्डी, अनिल गुरुङ र विकास राईले एक/एक गोल गर्दै मच्छिन्द्रलाई जिताएका हुन् ।
सरस्वतीका फ्रान्सिस ओएमाले एक गोल फर्काउँदा एक गोल आत्मघाती भएको थियो ।
फ्रेन्ड्सद्वारा हिमालयन शेर्पा पराजित
शुक्रबारै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले हरायो ।
खेलमा गोहा प्याट्रिकको गोलबाट हिमालयनले प्रारम्भिक अग्रता लिएपनि सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो ।
फ्रेन्ड्सका लागि सन्जोग महर्जन र जीवन गुरुङले एक/एक गोल गरे ।
कुन क्लब कुन स्थानमा ?
लिगमा ९ खेलबाट २७ अंकसहित मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । समान खेलबाट २४ अंकको संकटा क्लब दोस्रोमा रहँदा २२ अंकको थ्रीस्टार क्लब तेस्रो स्थानमा छ ।
१८ अंकको त्रिभुवन आर्मी क्लब चौथो, १५ अंकको नेपाल पुलिस क्लब पाँचौं, १४ अंकको हिमालयन शेर्पा क्लब छैटौं, १३ अंकको च्यासल युथ क्लब र सशस्त्र प्रहरीको टिम क्रमशः सातौं र आठौं तथा सरस्वती युथ क्लब १० अंकबाट नवौं स्थानमा छन् ।
८ अंकको जावलाखेल दशौं तथा समान अंककै फ्रेन्ड्स ११औं स्थानमा छन् । ६ अंकको मच्छिन्द्र १२औं, ५ अंकको ब्रिगेड ब्वाइज क्लब १३औं तथा ४ अंकको एनआरटी पुछारमा छ ।
शनिबार दुई खेल
शनिबार दुई खेल हुनेछन् ।
बिहान ११ बजे थ्रीस्टारले च्यासलसित तथा दिउँसो साढे २ बजे संकटाले ब्रिगेड ब्वाइजसित खेल्नेछन् ।








प्रतिक्रिया दिनुहोस्