
विगतका निर्वाचनहरुमा धनुषा, महोतरी, रौतहट र पर्सा जिल्लामा जित्दै आएको नेपाली कांग्रेसले यसपटक अप्रत्याशित नतिजाको सामना गर्नुपरेको हो ।
मधेसी दलहरुले भने यसपटकको निर्वाचनमा राम्रै पुनरागमन गरे । मधेसमा अलग्गै गठबन्धन बनाएर चुनावमा गएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राम्रै पुनरागमन गर्न सफल भए ।
राजपाले ११ सिट जित्दा संघीय फोरमले १० स्थानमा बाजी मारेको छ । जबकि, नेपाली कांग्रेसले ६ स्थानमामात्र आफ्ना उम्मेदवारलाई जिताउन सक्यो । माओवादी केन्द्रले ५ सिट जित्दा एमालेले २ स्थान सुरक्षित गरेको छ ।
पर्साबाट क्षेत्र नम्बर–१ बाट विजयी संघीय समाजवादीका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले अब संसदबाट मधेसको माग पूरा गराउने मुख्य एजेन्डा हुने बताए ।
प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश नम्बर–२ मा संघीय फोरम र राजपाको मधेस गठबन्धनलाई स्पस्ट बहुमत मिलेको छ । योसँगै त्यहाँ मुख्यमन्त्री को बन्ला भन्ने चासो पनि बढेको छ ।
सप्तरीदेखि पर्सासम्मका ८ जिल्लामा मधेस गठबन्धनमा आबद्ध संघीय फोरमका १८ र राजपाका १४ जना प्रदेशसभा सदस्यमा चुनिएका छन् । यहाँ कांग्रेसले ११, एमालेले १४ र माओवादी केन्द्रले ६ स्थान जितेको छ ।
६४ सिट रहेको प्रदेशसभामा सरकार बनाउन पुग्ने जनमत दुई मधेसी दललाई मिलेको हो । २ नम्बरमा प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय सभा हुनेछ ।
समानुपातिकको मतगणना जारी रहेपनि आउने मुख्यमन्त्री को बन्ने भन्ने चर्चा भने सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्