Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


आज राति मिथुन उल्का वर्षा सक्रिय हुने, नाङ्गो आँखाले देख्न सकिने


0
Shares

सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो ।

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन् । आज राति चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सूर्योदय ६ः४६ बजे हुने भएकाले अवलोकनका लागि राति ८ः४५ देखि ३ः५६ बजेसम्मको समय अनुकूल हुनेछ ।

उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवश्यकता पर्दैन । उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आँखाले हेर्नु नै हो । उल्का वर्षा अवलोकन गर्न र क्यामेरामा कैद गर्ने प्रयासका लागि काठमाडौँमा रहेका सोसाइटीका सदस्य तथा इच्छुक व्यक्ति आज साँझ नगरकोट जाँदैछन् । (रासस)