
महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलाको संख्या बढ्दो रहेको पाइएको हो ।
स्वास्थ्य कार्यालयले २०६८ बाट जिल्लामा सन्चालन गरेको आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलालाई ठूलो सघाउ पुगेको हो ।
नेपालमा करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको तथ्यांक छ भने पाल्पा जिल्लामा ८५ प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।
सरकारले उपलब्ध गराएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराउनेलाई रु ४०० प्रदान गर्न थालेपछि स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेको उनले बताए ।
रामपुरकी लक्ष्मी रानाले तीन ओटा बच्चा स्वास्थ्य संस्थामा नै गएर जन्माइन् । ‘स्वास्थ्य संस्थामा नै गएर तीनपटकसम्म बच्चा जन्माउँदा यातायात खर्च एक÷एक हजार र चारपटक गर्भ परीक्षण गराएको चार÷चार सय रकम र बच्चा तथा आमाका लागिसमेत कपडा बुझेको छु’, उनले भनिन् ।
सुरक्षित तरिकाले सुत्केरी हुन पाएपछि आमा र बच्चाको ज्यान जोखिमुक्त हुने हुँदा स्वास्थ्यमा नै गएर बच्चा जन्माउन अरुलाई पनि सल्लाह दिने गरेको लक्ष्मीले बताइन् ।
जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० ओटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कूल २५ ओटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको छ । यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था छ ।
जिल्लाको मिशन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँबाट पनि सुरक्षित सुत्केरी गराउने व्यवस्था छ ।
आव २०७३/७४ को असार मसान्तसम्ममा लुम्बिनी मेडिकल कलेज प्रभासमा २ हजार ३५९, मिशन अस्पतालमा २ हजार ९३, रामपुर अस्पतालमा २४१, मदनपोखरा स्वास्थ्य चौकीमा ११८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालमा गरी ५ हजार ३३७ जना स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् ।
कार्यालयको तथ्यांकअनुसार २०७१/७२ मा ६ हजार ५०० र २०७२÷७३ मा ६ हजार ३०० महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएकाले जिल्लामा पछिल्लो समय मातृशिशु तथा नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको हो । रासस
प्रतिक्रिया दिनुहोस्