Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


मुख्यमन्त्री बन्न तयार छु : अष्टलक्ष्मी शाक्य (भिडियो)


0
Shares

दलीय आधारमा हेर्दा प्रत्यक्षमा एमाले एक्लैले ६४ प्रतिशत सिट जितेको छ भने समानुपातिकसमेत मिलाउँदा पनि बहुमत पुर्‍याउने संकेत देखिन्छ ।

राजधानीसमेत रहेको र सबैभन्दा बढी प्रदेशसभा सदस्य भएको प्रदेश नम्बर–३ मा एमाले एक्लैले सहज बहुमत हासिल गर्ने देखिएको छ ।

प्रत्यक्ष र समानुपातिक गरी ११० सांसद संख्या रहेको यो प्रदेशमा प्रत्यक्षतर्फका ६६ मध्ये एमाले एक्लैले ४२ सिट जितेको छ ।

यस प्रदेशमा माओवादी केन्द्र १५, नेपाली कांग्रेस ७ र अन्यले २ स्थान जित हात पारेका छन् । समानुपातिकतर्फ पनि एमालेकै अग्रता छ ।

काठमाडौं उपत्यकाभित्रका ३ जिल्लाबाटमात्रै ३० जना सांसद प्रत्यक्षतर्फ चुनिएका छन् । जसमा एमालेका २३ जना छन् ।

एमालेकातर्फबाट निर्वाचित हुनेमा काठमाडौं जिल्लाबाट गणेशप्रसाद दुलाल, सानुकुमार श्रेष्ठ, मणिराम फुयाँल, रामेश्वर फुयाँल, कुसुमकुमार कार्की, नारायणबहादुर सिलवाल, दीपक निरौला, केशव स्थापित, योगेन्द्रराज संग्रौला, बसन्तप्रसाद मानन्धर, प्रकाश श्रेष्ठ, राजेश शाक्य, अष्टलक्ष्मी शाक्य, अजयक्रान्ति शाक्य र केशवप्रसाद पोखरेल छन् ।

त्यसैगरी, ललितपुरबाट चेतनाथ सन्जेल, माधवप्रसाद पौडेल, ज्ञानेन्द्र शाक्य र जीवन खड्का तथा भक्तपुरबाट हरिशरण लामिछाने, शशीजंग थापा र राजेन्द्रमान श्रेष्ठ एमालेबाट निर्वाचित छन् ।

यस्तै, कांग्रेसका तर्फबाट विजयी हुनेमा काठमाडौंबाट दीपेन्द्र श्रेष्ठ, छिरिङ दोर्जे लामा, नरोत्तम वैद्य र पुकार महर्जन छन् ।

माओवादी केन्द्रका दुईजना सांसद छन्, जसमा ललितपुरबाट राजकाजी महर्जन र लालकुमारी पुन छन् । नेमकिपाका सुरेन्द्रराज गोसाइँ भक्तपुरबाट विजयी भएका छन् ।

जनसंख्या, प्रभाव र प्रदेशसभा सदस्यको संख्याको आधारमा सबैभन्दा बलियो मानिने प्रदेश नम्बर–३ का लागि सम्भावना जति छ, चुनौती पनि उत्तिकै रहेको बताइन्छ । सबैभन्दा मुख्य त केन्द्र सरकारको छायाँमा पर्ने सम्भावना बढी रहेको देखिन्छ ।

यस प्रदेशमा मुख्यमन्त्रीकोरुपमा चर्चामासमेत रहेकी एमालेकी प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य भने केन्द्रको छायाँ बन्ने नभइ ३ नम्बर प्रदेशले पूरै मुलुकलाई नेतृत्व गर्नसक्ने दाबी गर्छिन् ।

यो प्रदेश चुनौतीमात्र नभइ सम्भावनायुक्त पनि उत्तिकै रहेकाले केन्द्र र स्थानीय सरकारसँग समन्वयमा काम गर्दा समृद्धिको ढोका खोल्न सकिने उनको तर्क छ ।

पार्टीले जिम्मेवारी दिए आफू मुख्यमन्त्रीका लागि तयार रहेको बताउँदै उनले निर्वाचनपछि हार–जितको मानसिकताभन्दा विकासको मामिलामा एक भएर जाने र आफूले त्यसको पहल गर्नेसमेत बताइन् ।

भिडियो हेर्नुहोस्