३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सप्तरीमा धान काट्ने उपकरण भित्रिएपछि किसान उत्साहित


0
Shares

सप्तरी, पुस ६ । मजदुर अभाव हुँदा कृषि पेशा नै संकटमा पर्ने चिन्ता भइरहेका बेला सप्तरीमा धान काट्ने उपकरण भित्रिएपछि किसान उत्साहित भएका छन् ।

कृषि मजदूर पाउन समस्या भइरहेका बेला हार्वेस्टर कम्पाइन नामक धान काट्ने र दाउनी गर्ने मेसिन जिल्लामा भित्रिएको हो । यसले किसानलाई निकै सहज हुने अपेक्षा गरिएको छ ।

पाकिसकेको धान काट्न, भित्र्याउन तथा दाउनी गर्न हप्तौं लाग्ने गरेको अवस्थामा उपकरण भित्रिएपछि एक घण्टामै एक विगाहको धान काटेर दाउनीसमेत खेतमै गर्ने गरिएको छ । मजदुर खर्चसमेत बढी लागिरहेको अवस्थामा मेसिनले प्रतिबिगाहा ७ हजार रुपैयाँमै काट्ने र दाउनीसम्म हुने गरेकाले किसानहरु खुशी भएका छन् ।

खेत जोत्नेदेखि दाउनीसम्मको काम उपकरणबाटै हुने गरेकाले अनावश्यक झन्झटबाट आफूहरुले मुक्ति पाएको किसानहरु बताउँछन् ।

सप्तरीमा ७० हजार हेक्टर खेतीयोग्य जग्गा मध्ये यस वर्ष ६३ हजार ५ सय हेक्टरमा धान बाली लगाइएको थियो । गतवर्षको तुलनामा धान उत्पादनमा ७ प्रतिशतले वृद्धि भएर १ लाख ७९ हजार ५ सय ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।