प्रत्यक्ष र समानुपातिक गरी दुवैतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा संसदमा पुग्ने दलको संख्या घटेको छ ।
चुनावको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा पाँच पार्टीमात्र राष्ट्रिय दलको हैसियतमा प्रतिनिधिसभामा रहने भएका छन् ।
राजनीतिक दलसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार कुल सदर मतको तीन प्रतिशत मत ल्याउने पार्टीलाईमात्र राष्ट्रिय पार्टीको मान्यता दिने व्यवस्था छ ।
प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ । प्रदेशसभाका लागि १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।
राष्ट्रिय पार्टी बन्न ३ प्रतिशत ‘थ्रेसहोल्ड’को व्यवस्था गरिएपछि यसपटक प्रतिनिधिसभामा ५ दलकोमात्र उपस्थिति हुने भएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल गरी पाँच पार्टीलेमात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।
३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेमकिपालगायतका दलले भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् ।
अघिल्लो चुनावमा थ्रेसहोल्डको व्यवस्था नभएकै कारण थोरै मत पाउने दलहरुले पनि संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।
थ्रेसहोल्डको व्यवस्था नभएकै कारण मुलुकको राजनीति र सरकार अस्थीर भएको भन्दै विगतमा निकै आलोचना हुने गरेको थियो ।
यसपटक भने संसदमा साना दलको प्रतिनिधित्व नहुँदा राजनीतिक स्थिरता आउने धेरैको आशा छ । तर, राजनीतिक विश्लेषकहरु भने साना दलको अनुपस्थितिलेमात्र राजनीतिक स्थिरता आउन नसक्ने जिकिर गर्छन् ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले मतदाताले राजनीतिक स्थिरताको पक्षमा मत दिएपनि राजनीतिक स्थिरताका लागि दलहरुका क्रियाकलापमा भरपर्ने बताए ।
मतदाता राजनीतिक स्थिरताको पक्षमा रहेपनि विगतमाजस्तै यसपटक पनि सरकार गठनकै विषयमा किचलो सुरु भइसकेकाले दलको चरित्रमा परिवर्तन नआएको टिप्पणी उनीहरुको छ ।
अर्का विश्लेषक निलाम्बर आचार्य आगामी दिनमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसको सम्बन्धले राजनीतिक दिशा तय गर्ने बताउँछन् ।
यसपटक संसदमा पाँच पार्टीकोमात्र उपस्थिति हुने निश्चित भएपनि अघिल्लो संसदमा करिब तीन दर्जन पार्टी थिए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुका अस्तित्व अब संसदमा हुनेछैन ।
थ्रेसहोल्ड कटाउन नसकेका दलबाट निर्वाचित भएकाहरु स्वतन्त्र सांसदकोरुपमा संसदमा रहनेछन् ।
थ्रेसहोल्ड नकटाएका नयाँ शक्ति, राप्रपा, जनमोर्चा र नेमकिपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक/एक सिट जितेका छन् ।









प्रतिक्रिया दिनुहोस्