Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


सबै मित्र राष्ट्रहरुको साथ–सहयोग लिएर अघि बढ्न तयार छौं : ओली


0
Shares

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकामा बधाइ दिन शनिबार बालकोटस्थित ओली निवास पुगेका राजदूत ओगावा र ओलीबीच भेटवार्ता भएको हो ।

सो अवसरमा अध्यक्ष ओलीले मित्र राष्ट्रहरुको साथ–सहयोग लिएर अघि बढ्न आफू तयार रहेको बताए ।

जापानबाट आफूले सदाजस्तै विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउँदै उनले भने–‘हामी सबै अन्तर्राष्ट्रिय छिमेकीको साथ–सहयोग लिएर अघि बढ्न तयार छौं ।’

भेटमा अध्यक्ष ओलीले आफू र आफ्नो गठबन्धनले संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए ।

भ्रष्टाचार न्यूनीकरण, विकास, समृद्धि, पारदर्शीताजस्ता कुरालाई प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने–‘हामी लोकतन्त्रका आधारभूत मूल्य–मान्यता स्थापित गर्ने कुरामा प्रतिबद्ध छौं ।’

आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेदजस्ता नेपाली समाजका बेथितिहरु हटाउन प्रयासरत् रहने उनको भनाइ थियो ।

राजदूत ओगावाले अध्यक्ष ओलीलाई बधाइ दिँदै नेपालमा अब स्थायी सरकार निर्माण हुने आफूले अपेक्षा गरेको बताए ।

उनले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । रासस