Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


पशुपतिनाथ क्षेत्रबाट ल्याइएको बाँदरबाट म्याग्दीका कृषक हैरान


0
Shares

म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौंको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको हो ।

बेनी नगरपालिका वडा नम्बर–९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुःख दिने गरेको छ ।

पाँच वर्षअघिसम्म नगन्यमात्रमा देखिने बाँदर त्यसपछिका वर्षमा हुलका हुल देखिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पुर्‍याउन थालेपछि कृषक समस्यामा परेको प्रकाश शर्माले बताए ।

शर्माले दिएको जानकारीअनुसार केही वर्षअघि काठमाडौंको पशुपति क्षेत्रमा रहेका बाँदरमा प्राणघातक रोग देखापरेपछि ती बाँदरलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो ।

बाँदरका कारण सल्लेरी तथा त्यस क्षेत्र वरपर बसोबास गर्ने कृषकले लगाएको नगदेवाली, बेमौसमी बालीलगायत फलफूल खेतीमा ठूलो क्षति पुगेको स्थानीय रामदास बैरागीले जानकारी दिए । रासस