मतगणना सम्पन्न भएसँगै सम्बन्धित निर्वाचन अधिकृतहरुले लिखित रुपमा निर्वाचन आयोगलाई मतपरिणाम बुझाईरहेका छन् । निर्वाचन अधिकृतले प्राप्त मतपरिणाम निर्वाचन आयोगलाई बुझाईसकेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ६० मा भएको व्यवस्था बमोजिम मतविभाजक सूत्रबाट सिट बाँडफाँट गरि राजनीतिक दलहरुलाई जानकारी गराउनेछ ।
निर्वाचन आयोगले तोकेको समयभित्र समानुपातिक सिट प्राप्त गरेका राजनीतिक दलहरुले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमध्ये क्रमसंख्याअनुसार नाम सिफारिस गर्नेछन् । दलहरुको सिफारिशपछि निर्वाचन आयोगले उम्मेदवारलाई विजयी घोषणा गर्ने र आयोगले नै राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचन आयोगले समानुपातिकको मतपरिणामको औपचारिक नतिजा छिट्टै सार्वजनिक गर्ने जनाएको छ । यता, औपचारिक रुपले निर्वाचनको सम्पूर्ण नतिजा आउन नपाउँदै राजनीतिक दलहरुबीच भने सरकार गठनको विषयमा विवाद सुरु भईसकेको छ ।
दलहरुबीच राष्ट्रियसभा गठन पहिले कि सरकार निर्माण पहिले भन्नेमा विवाद भईरहेको छ । राष्ट्रियसभा निर्वाचन ऐन राष्ट्रपति कार्यालयमा अड्किएको छ । निर्वाचन आयोग त्यहि राष्ट्रियसभा निर्वाचन ऐनको पर्खाइमा छ । राष्ट्रियसभा निर्वाचन ऐन प्राप्त भएपछि मात्र यो विषयमा छलफल गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता ढकालले सरकार गठन निर्वाचन आयोगको सरोकारको विषय नभएको भन्दै संवैधानिक दायित्वअनुसार निर्वाचन कानुन प्राप्त भएपछि राष्ट्रियसभा निर्वाचनको प्रक्रिया अगाडी बढाउने बताए ।
अध्यादेशमार्फत ल्याउन लागिएको राष्ट्रियसभा निर्वाचन ऐन राष्ट्रपति कार्यालयमा अड्काइएपछि राष्ट्रिय सभा गठन ढिलो भएको छ । राजनीतिक दलहरुबीच राष्ट्रिय सभाको गठन एकल संक्रमणीय वा बहुमतीय कुन पद्धतिबाट गर्ने भन्नेमा दलहरुबीच विवाद छ ।
दलहरुबीच यो विवाद रहेकै बेला राष्ट्रपति कार्यालयले पनि अध्यादेश जारी गरेको छैन ।









प्रतिक्रिया दिनुहोस्