१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


पूर्वगभर्नर रावलसहित तीनजनाविरुद्ध पोलिमर नोटकान्डमा भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं, पुस ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार पोलिमर नोटकान्डमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वगभर्नर रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध दुई करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोडथान पोलिमर नोट छपाइ गर्दा स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छापेको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनीरुपमा नोट छपाइ गरेको आरोप लागेको थियो ।

अख्तियारले दायर गरेको मुद्दामा बोलपत्रअघि नै नोट प्रिन्टिङका लागि अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सन्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुनेलगायतका गलत गतिविधि भएको उल्लेख छ ।

यस्तै, परल मूल्य प्रतिहजार ६८ अष्ट्रेलियन डलरबाट चार अष्ट्रेलियन डलर बढाउन लगाइ सोहीबमोजिम बोलपत्र र सम्झौता गरी राष्ट्र बैंकका नोट प्रिन्टिङमा अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराइ नोक्सानी पुर्‍याएको उल्लेख गरिएको छ ।