१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


निर्मला हत्या प्रकरणः अलमलमा कन्चनपुर प्रहरी


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, पुस ५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुग्न लागिसकेको छ । तर, वास्तविक दोषी अझै पहिचान हुन सकेको छैन ।

बरु, घटनालाई ढाकछोप गर्न अनुसन्धानमै लापरबाही गरिएको र निर्दोषलाई फसाउन खोजेको भन्दै पीडित परिवारले प्रहरीविरुद्ध जाहेरी दिएका छन् ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै पीडित परिवारले प्रारम्भिक अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालयमा कार्यरत् तत्कालीन प्रहरीविरुद्ध उजुरी दिएपछि घटनाले नयाँ मोड लिएको छ ।

अर्कोतिर प्रहरीलाई पनि अनुसन्धान कसरी सुरु गर्ने भन्नेमा अन्योल भएको छ ।

नयाँ मुद्दा भएकाले सरकारी वकिलको रायअनुसार प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतको भनाइ छ ।

असुन्धानमा लापरबाही गरेको आरोपमा तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का र जगदीश भट्ट, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, प्रहरी सहायक निरीक्षक रामसिंह धामी र केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसीविरुद्ध गत मंगलबार निर्मलाकी आमा दुर्गादेवी पन्तले किटानी उजुरी दिएकी थिइन् ।

उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने निर्मलाकी आमा दुर्गादेवीको माग छ ।

यता, वास्तविक अपराधीलाई लुकाउन प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै प्रहरीमा दिलीपसिंहका दाजु खडकसिंह विष्टको पनि उजुरी परेको छ ।

उनले बर्खास्तीमा परेका एसएसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी, निरीक्षक एकेन्द्र खड्का र केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसीविरुद्ध मानहानिको उजुरी दिएका हुन् ।

अनुसन्धान गर्नेहरुले नै लापरबाही गरेको आरोपमा उजुरी परेपछि अबको अनुसन्धान कसरी बढ्ला भन्नेमा धेरैको चासो देखिएको छ ।