४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


कृषिमा ध्यान दिएर उत्पादन बढाऔं : मुख्यमन्त्री पोखरेल


0
Shares

बुटवल, असार १५ । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ १५ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

धान दिवसको अवसरमा प्रदेश नम्बर ५को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना सैनामैनामा धान महोत्सव आयोजना गरिएको छ ।

महोत्सवलाई सम्बोधन गर्दैै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कृषिमा वृहत्तर विकास गर्ने किसिमका योजनाहरु ल्याएको बताए ।

देशकै नमुना हुने गरी विभिन्न कार्य पनि मन्त्रालयबाट ल्याइएको जनाउँदै उनले साझा पहल भएमा लक्ष्य प्राप्ति गर्न सकिने धारणा राखे । अब सानो क्षेत्रमा कृषि तथा पशुपालन गर्ने नभई वृहत्तर रुपमा कृषि क्षेत्रमा किसानहरुले काम गर्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो जमिन नभएका किसानहरुलाई सरकारले नै जमिनको भाडा तिर्ने गरी करारमा कृषि खेतीको समेत अवधारणा ल्याइरहेको भन्दै उनले किसानहरुले वृहत्तर रुपमा योजना बनाएर आगाडि बढेमा लगानीको प्रतिफल बढि हुने बताए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश बजेटमा कृषि क्षेत्रमा नेपालकै नमुना कार्यको रुपमा विभिन्न कार्यको सुरुवात प्रदेश सरकारले गर्ने गरी योजना ल्याएको बताइन् ।

नेपालमै पहिलो पटक एनिमल एम्बुलेन्स, एक निर्वाचन क्षेत्र एक कृषि नमुना गाउँ, ४ वटा कृषि होम स्टे सञ्चालनका साथै आफ्नो जमिन नभएका किसानहरुलाई करार खेती लगायतका केही नमुनायोग्य कार्य अगाडि सारेको मन्त्री पौडेलको भनाइ थियो ।