Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


प्रधानमन्त्रीले दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न : मन्त्री थापा


0
Shares

रिपोर्टर्स् क्लबमा सोमबार आयोजित कार्यक्रममा मन्त्री थापाले यो चुनावी सरकार भएको प्रस्ट पार्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर सरकार छोड्ने बताए ।

उनले निर्वाचन आयोगले पूर्ण मतपरिणाम अझै सार्वजनिक नगरिसकेको चर्चा गर्दै नयाँ सरकारको गठन प्रक्रिया पुर्‍याएरमात्र छोड्ने बताए ।

उनले थपे–‘प्रधानमन्त्रीले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न ।’

राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि आफूहरु सरकार छोड्न तयार रहेको उनले स्पस्ट पारे ।

उनले दुई महिनाअघि राष्ट्रियसभासम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको बताउँदै अहिलेसम्म स्वीकृति नदिनु दुःखद् भएको गुनासो गरे ।

मन्त्री थापाले अध्यादेश संविधानसम्मतरुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्वीकृत गर्नुको विकल्प राष्ट्रिपतिसँग नभएको बताए ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भइसकेकाले सहमतिमै सबै कुरा टुंगो लगाउने बताए ।

उनले भने–‘हामीले दुई पार्टीलाई एकीकरण गर्न एकता प्रक्रिया सुरु गरिसकेको तथा एकताका लागि हामी बैठक बसिरहेका छौं । संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं । पार्टी एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटीलाई समायोजन गरेर जान्छौं ।’

राष्ट्रियसभाको निर्वाचन बहुमतका आधारमा नै गर्ने स्पस्टरुपमा नेपाली कांग्रेससँग समझदारी भएको उल्लेख गर्दै अहिले सरकारले राजनीतिक सहमतिविपरीत राष्ट्रियसभाको निर्वाचनबारे कुरा उठाउनु अनुचित भएको उनको तर्क थियो ।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीजीले मार्गप्रशस्त नगर्दा प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको निष्ठालाई कमजोर बनाउने गुनासो रावलले गरे । रासस