
सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको ६ दशक यात्रा पार गरेकी उनकी श्रीमती इन्द्रकला भण्डारीले एक वर्षअघि रु ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी पिसानी मेसिन आफ्ना लागि त सहज भएको छ नै छिमेकी पनि त्यसबाट लाभान्वित भएका छन् ।
चार छोरा र दुई छोरीका अभिभावक भण्डारी दम्पती छोरा छोरी सेवा, पेसा र व्यवसायका क्रममा घरभन्दा बाहिर रहेपनि बुढ्यौली जीवनलाई पनि क्रियाशील बनाएर सबैका लागि अनुकरणीय बनेका छन् ।
‘शुरुमा त आफ्नै घरको लागिमात्र भनेर यो धान कुट्ने तथा मकै, कोदो पिस्ने मेसिन किनेका हौँ,’ रविलालले भने, ‘अहिले भने घर वरपरका छिमेकी पनि धान, मकै र कोदो लिएर आउने गरेका छन् ।’
विगतमा रातको २ बजेदेखि घरमा आवश्यक पर्ने चामल तथा पिठोका लागि ढिकीजाँतोको प्रयोग गर्ने गरेकी इन्द्रकलालाई आधुनिक मेसिनको प्रयोग गर्न पाउँदा अचम्म लागेको छ ।
‘मेसिनको प्रयोग नहँुदासम्म घरमा नै कुटानी पिसानी गर्नुपर्ने बाध्यता थियो भने गाउँमा मेसिन आए पछि पनि बोकेर टाढाटाढा पु¥याउनु पर्थ्यो,’ उनले भनिन्, ‘अहिलेका पुस्ताका लागि भने हाम्रो देखाइ र भोगाइ एकादेशको कथाजस्तै भएको छ ।’
आधुनिक मेसिनले एक घण्टामा तीन मुरीसम्म धान कुट्ने गरेको बताउँदै उनले एक वर्षयता मेसिन ल्याएपछि गाउँका छिमेकी पनि धान मकै लिएर आउने गरेको बताइन् ।
चीनमा निर्मित सो मेसिन आवश्यकताअनुसार जता पनि सार्न सकिने बताउँदै भण्डारी दम्पतीले धान कुटेको प्रतिपाथी रु तीन एवं मकै र कोटो पिसेको प्रतिपाथी रु पाँच लिने गरेका छन् ।
घरको नजिकै धन्सारमा राखिएको उक्त कुटानी पिसानी मेसिनबाट आर्थिकरुपमा फाइदा नभए पनि गाउँलेले समेत सुविधा पाएकोमा इन्द्रकला भने दंग परेकी छन् ।
ढिकी जाँतोको विकल्पमा मेसिनको प्रयोग गरेका भण्डारी दम्पतीले घरमा खेतबारी जोत्नका लागि हाते ट्र्याक्टर पनि खरिद गरेका छन् । हाते ट्र्याक्टरको प्रयोग भने उनको जेठो छोरा वसन्त भण्डारीले गर्दै आएका छन् ।
पोखराको विरौटामा बाराही नर्सरी सञ्चालन गर्दै आएका भण्डारीका अनुसार उक्त ट्र्याक्टर जिल्ला कृषि विकास कार्यालयको रु ४० हजार अनुदानसहित रु एक लाख १० हजारमा खरिद गरिएको हो । (रासस)
प्रतिक्रिया दिनुहोस्