नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नवौं संयुक्त बैठक काठमाडौंमा सुरु • Image Khabar Image Khabar


नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नवौं संयुक्त बैठक काठमाडौंमा सुरु


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०१:१४

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नवौं संयुक्त बैठक काठमाडौंमा सुरु

काठमाडौं, असार १५ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)को नवौं संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ ।

आजदेखि सुरु भएको बैठकमा नेपालको तर्फबाट डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, महेन्द्र पी लामा, जयन्तप्रसाद र डा. बिसी उप्रेती सहभागी छन् ।

सन् १९५० को सन्धिका असमान विषयमा समझदारी जुटाउँदै पुनरावलोकन गर्न यो बैठक निर्णायक मानिएको छ । यसअघि जेठ १८ देखि २० सम्म काठमाडौंमा बैठक बस्ने तय भए पनि नेपालले भारतकै आग्रहमा मिति सारेर ईपिजीलाई दिइएको समयसीमाको अन्त्यतिर बैठक राखेको हो ।

१९५० को सन्धिका विषयमा नेपालले पेस गरेको सन्धि र सम्झौतामा उल्लेखित दुबै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारका विषयमा सहमति जुट्ने बताइएको छ । भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्वीकार्ने बताइसकेको भए पनि त्यसमा लिखित सहमति भने जनाएको छैन ।

नेपालले पनि भारतको संवेदनशीलतालाई ध्यानमा राखेर शान्ति र मैत्री सन्धिका दफा २, ५, ६ र ७ का विषयमा नेपाललाई समस्या नहुने गरी बीचको बाटो उपयोग गरेको भए पनि अझै टुंगिन सकेको छैन । नेपालले राखेका विषयमा भारतले ठूलो आपत्ति नजनाएकाले ईपिजी बैठकले संयुक्त प्रतिवेदन जारी गर्दै आ–आफ्नो मुलुकलाई बुझाउने आशा नेपाली पक्षले राखेका छन् ।

ईपिजीको पहिलो बैठक ०७३ असार २० र २१ गते काठमाडौंमा बसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्