काठमाडौं । भैरहवा ग्लाडियटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग इपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
इलिमिनेटर खेलमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा क्वालिफायरमा पुगेको हो ।
एक सय ४० रनको चुनौती भैरहवाले ६ विकेटको क्षतिमा १८ ओभर २ बलमै पूरा गरेको हो ।
कुशल मल्ल र रोहितकुमार पौडेलले सातौं विकेटका लागि अविजित ५१ रनको साझेदारी गर्दै टिमलाई जिताए । कुशलले १३ बलमा २७ तथा रोहितले १४ बलमा २४ रन बनाए ।
ओपनिङ ब्याट्सम्यान प्रदीपसिंह ऐरीले ४२ तथा कप्तान शरद भेषावकरले २९ रनको योगदान दिए ।
कमल सिंह ऐरीले २६ रन खर्चेर ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।
यसअघि कीर्तिपुर मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ८ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।
दिपेन्द्र सिंह ऐरीले ४५ बलमा ५६ रन बनाएको इनिङ्समा मोहम्मद नाभिदले ३ तथा अभिनाश बोहराले २ विकेट लिए । प्रदीप म्यान अफ द म्याच भए । हारपछि चितवन बाहिरिएको छ ।
विजेता भैरहवाले क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेनसँग खेल्नेछ ।
विजेता टोलीले उपाधिका लागि फाइनलमा ललितपुर पेट्रियट्ससंग खेल्नेछ । ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौंलाई एक विकेटले हराएको थियो ।








प्रतिक्रिया दिनुहोस्