२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल अन्डामा ‘आत्मनिर्भर’


0
Shares

सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अन्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो ।

सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अन्डा उत्पादक संघले जनाएको छ ।

गत वर्ष कुल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ ओटा अन्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झन्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर भएको हो ।

आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।

गत तीन वर्षदेखि हाँस र कुखुराको अन्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

आव ०७०/७१ मा हाँसको अन्डा एक करोड ३४ लाख तीन हजार, ०७१/७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२/७३ मा एक करोड ३९ लाख ६ हजार अन्डा उत्पादन भएको थियो ।

त्यसैगरी, कुखुराको अन्डा ०७०/७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१/७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२/७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अन्डा उत्पादन भइ नेपाल अन्डामा आत्मनिर्भर भएको अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अन्डा उत्पादन हुन्छ । गत तीन वर्षपहिले ९० करोड अन्डा उत्पादन हुन्थ्यो । हाल बजारमा अन्डाको अभाव छैन । यद्यपि, भारतको खुला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अन्डाको आयात रोकिएको छैन ।

नेपालमा हाल अन्डा दिने कुखुराको संख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको संख्या एक लाख ८० हजार ९२७ रहेको जनाइएको छ । रासस