२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पृथ्वीनारायणपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा : दाहाल


0
Shares

बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले भने–‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन् । हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो । जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ । जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ ।’

‘हामीले वामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं । जनताले वाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन्’–उनले भने–‘अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ । निर्वाचनले धेरै चुनौतीको समाधान दिएको छ । तर, केही चुनौती देखिएका छन् । संविधान र कानुनको फरक व्याख्या देखिएको छ । यसको समाधान पनि जनमतअनुसार नै हुन्छ । राष्ट्रिय एकता र भौगोलिक अखन्डताको प्रावधानबाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ ।’

‘एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाईमात्रै प्राप्त हुन्छ । मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणी छु’–दाहालले भने ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयो । त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो । मेरै नेतृत्वमा शान्ति–सम्झौता भयो । युद्द र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए । संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें । अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ, त्यो जिम्मेवारी पनि म पूरा गर्छु ।’

कार्यक्रममा नेपाल देशभक्त गणतान्त्रिक मञ्चले दाहाललाई सम्मान गरेको थियो । हालै सम्पन्न निर्वाचनमा विजयी भएकामा दाहाललाई सम्मान गरिएको हो ।