
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो क्षेत्र झापाको केचनाकवल रहेको प्रदेश नम्बर–१ लाई ‘धनी’ प्रदेशकारुपमा हेरिएको छ ।
वि.सं. २००७ सालको क्रान्तिको प्रारम्भ यही प्रदेशमा रहेको मोरङको विराटनगरस्थित जुटमिलबाट भएको कारण राजनीतिक दृष्टिलेसमेत चर्चित रहेको यो प्रदेश भौगोलिकरुपमा हिमाली, पहाडी र तराई एवं जातीय हिसाबले करिब सबै जाति समेटिएको प्रदेशमा पर्दछ ।
प्राकृतिक स्रोत–साधनको प्रचुर सम्भावना रहेको यो प्रदेशमा प्रमुख आयस्रोतकारुपमा पर्यटन, अरुण तेस्रो र सप्तकोसी बहुउद्देश्यीय परियोजनासहित ठूला एवं पुराना उद्योग रहेका छन् । झापा, मोरङ, सुनसरी औद्योगिक करिडोर पनि यही प्रदेशमा पर्छ ।
पर्यटनकारुपमा कन्चनजंघा संरक्षण क्षेत्र, कोसीटप्पु आरक्षण, मकालु वरुण राष्ट्रिय निकुञ्ज यही प्रदेशमा छ ।
पाथीभरा, हलेसी, बराह क्षेत्र, छिन्ताङदेवीलगायतका धार्मिक पर्यटकीयस्थल रहेको यो प्रदेशलाई पर्यटकीय प्रदेशकारुपमासमेत विकास गर्नसकिने देखिन्छ ।
१२ ओटा विमानस्थलले यो प्रदेशलाई सडकदेखि हवाईमार्गसमेतबाट जोडेको छ ।
सामथ्र्यको हिसाबले १ नम्बर प्रदेशअगाडि रहेको बताउँछन्, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्रका सहप्राध्यापक अर्जुन बराल ।
यो प्रदेशमा पर्ने मध्यपहाडी लोकमार्गलाई पूर्वी प्रदेशको ‘लाइफलाइन’कारुपमा हेरिएको छ ।
प्राकृतिक स्रोत–साधनले प्रदेश–१ लाई धनी प्रदेशकारुपमा चिनाएपनि त्यसको उचित प्रयोग नहुँदा यस प्रदेशका बासिन्दा भने गरिब नै छन् ।
मानव विकास प्रतिवेदन २०१४ अनुसार पूर्वी प्रदेशका २८ प्रतिशत बढी जनता गरिबीको रेखामुनि रहेका छन् ।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार भने अन्य प्रदेशको तुलनामा १ प्रदेशमा गरिबी दर न्यून नै अर्थात् १९ दशमलव ७ प्रतिशत छ । मानव विकास सूचकांक भने शून्य दशमलव ५ प्रतिशत रहेको जनाइएको छ ।
प्रतिव्यक्ति आयको आधारमा यो प्रदेश दोस्रो नम्बरमा रहेको छ । प्रतिव्यक्त आम्दानी १२ सय ११ डलर रहेको जनाइएको छ ।
जनसंख्या बराबरी कुल गार्हस्थ उत्पादनमा योगदान पुर्याउने प्रदेश पनि यही हो । कुल जनसंख्याको १७ दशमलव १२ प्रतिशत मानिसहरू यस प्रदेशमा बसोबास गर्छन् भने कुल गार्हस्थ उत्पादनमा यो प्रदेशको योगदान पनि १७ दशमलव ४६ प्रतिशत छ ।
यो प्रदेशमा राष्ट्रिय औसतभन्दा साक्षरता दर बढी रहेको देखिन्छ । प्रदेशका हरेक जिल्लामा ६५ प्रतिशत बढी मानिसहरु शिक्षित छन् ।
प्रदेश–१ मा अवसरसँगै चुनौती पनि छन् । अर्थशास्त्री बरालकाअनुसार बलियो नीति र प्रभावकारी कार्यान्वयन क्षमता नै यस प्रदेशको विकासको मुख्य चुनौती हो ।
प्राकृतिक स्रोत, उद्योग, सडक एवं हवाईमार्ग जोडिएको प्रदेश–१ लाई व्यवहारिकरुपमासमेत धनी बनाउन प्रदेश सरकारले कस्ता कार्ययोजना ल्याउँछ र प्रभावकारी ढंगले काम गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्