
केन्द्रसमर्थित दलले बहुमत ल्याउन नसक्दा स्पेन सरकारलाई भने ठूलो झट्का लागेको छ । यो परिणाम स्पेनिस प्रधानमन्त्री मैरियानो रखायका लागि निकै ठूलो झट्का मानिँदा बेल्जियममा निर्वासित अलगवादी नेता काल्र्स प्युजडीमोन्टले भने यो क्याटलोनियाका रिपब्लिकहरुको ठूलो जित भएको उल्लेख गरेका छन् ।
स्पेनबाट स्वतन्त्र हुन चाहने र नचाहने पक्षबीच भएको चुनावमा मतदाताहरुको मन अलग हुनेतर्फ मोडिएको हो । क्याटलोनियाको स्वतन्त्रताको लागि गरिएको विवादास्पद जनमत संग्रहपछि स्पेनले केन्द्रीयस्तरबाटै क्याटलोनियामा क्षेत्रीय चुनाव गराएको हो ।
चुनावमा क्याटलान स्वतन्त्रता पक्षधर र क्याटलान क्षेत्र स्पेनकै अर्ध–स्वायत्त क्षेत्र रहनुपर्ने पक्षमा उभिएका दलहरुबीच तीब्र प्रतिस्पर्धा भएको थियो । मिलेर चुनावमा गएका क्याटलोनिया स्वतन्त्रता पक्षधर दलहरुले १३५ मध्ये ७० सिटका साथ बहुमत पाएका छन् । अर्ध–स्वायत्ततासहित स्पेनसँगै पक्षमा रहन चाहने सिटिजन पार्टीले भने ३५ सिट पाएको छ ।
यसअघि गत अक्टोबरमा क्याटलोनिया सरकारले स्वतन्त्रताका लागि गराएको जनमत संग्रहमा स्पेनबाट अलग हुने पक्षमा भारी मत परेपछि क्षेत्रीय संसदले स्पेनबाट अलग हुने एकतर्फी घोषणा गरेको थियो । अलग राज्यको विरुद्धमा रहेको स्पेनले क्षेत्रीय संसदलाई भंग गर्दै स्वतन्त्रता पक्षधर नेताहरुलाई मुद्दा चलाएको थियो ।
पक्राउ पर्ने डरले अलगवादी नेता काल्र्स प्युजडीमोन्ट हाल ब्रसेल्समा शरण लिइरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्