
सर्लाही, पुस ४ । सर्लाहीका हात्ती पीडित नागरिकले राज्यबाट कुनै सहयोग र राहत पाउन नसकेको गुनासो गरेका छन् ।
एक महिनाको अवधिमा सर्लाहीमा जंगली हात्तीले १९ घर भत्काउनुका साथै करिव ५ बिगाहामा लगाएको अन्न र तरकारी बाली नष्ट गरे पनि सरकारी निकायले कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । पर्सा वन्यजन्तु आरक्षबाट आएका जंगली हात्तीले लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा प्रवेश गरेर ठूलो क्षति पुर्याउँदै आएका छन् ।
हात्तीबाट पीडित भएका दुई जनाले क्षतिपूर्तिका लागि निवेदन दिएको र अन्यको पनि क्षतिपूर्तिका लागि निवेदन आउने क्रम जारी रहेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।
उनले जंगली हात्तीले क्षति पुर्याएका घर तथा बालीनालीको क्षतिपूर्ति लिन स्थानीय तह र सामुदायिक वनको सिफारिस आवश्यक पर्ने बताए । त्यसपछि स्थलगत अनुगमन गरी पीडितलाई १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिन सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्