४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी


0
Shares

पर्वत, पुस ४ । महाशिला गाउँपालिकाले एकैपटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । 

गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् । २० जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ ।

गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११/११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ । 

गाउँपालिकाले पहिलो चरणमा ३७० जनालाई सीपमूलक तालिमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालिमसहित ३६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए ।

महाशिला गाउँपालिकामा दुई हजार २०० भन्दाबढी परिवार बसोबास गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक रु ६ हजार तलब दिइने बताउँछन् । ‘गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,’ उनले भने । रोजगारी पाएका सबैको न्यूनतम रु पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको छ । (रासस)