सिंचाई सुविधा नहुँदा रोपाइँ गर्न पाएनन् किसानले • Image Khabar Image Khabar


सिंचाई सुविधा नहुँदा रोपाइँ गर्न पाएनन् किसानले


Imagekhabar
१५ असार २०७५, शुक्रबार ००:३८

सिंचाई सुविधा नहुँदा रोपाइँ गर्न पाएनन् किसानले

सञ्जय आचार्य

बर्दिया, असार १५ । असारको आधा समय बितिसक्दा पनि बर्दिया लगायतका पश्चिमी जिल्लाहरुमा पर्याप्त वर्षा नहुँदा किसानहरु रोपाइँ गर्न नपाएर मर्कामा परेका छन् ।

पूर्वी भेगमा दैनिकजसो वर्षा भए पनि त्यसको तुलनामा पश्चिममा वर्षा नहुँदा धान रोपाइँमा समस्या देखिएको हो ।

धान खेतीको लागि प्रसिद्ध मानिएको बर्दियामा कूल ७५ हजार हेक्टर खेतीयोग्य जमिन छ, जसमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ ।

बबई र राजपुरजस्ता ठूला ठूला सिँचाइ आयोजना रहे पनि धेरैठाउँमा सिँचाइको असुविधाका कारण धान रोपाइँ सुरु हुन सकेको छैन । केही किसानले फाट्टफुट्ट रुपमा रोपाइँ गर्न सुरु गरे पनि धेरैले आकाशे पानीलाई कुरिरहेका छन् ।

अहिले बर्दिया जिल्लामा सावित्री, सोहरान र मसिनो धानलगायत हाइब्रेड धानको बढी खेती गरिने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी कमल थापा बताउँछन् ।

गत वर्ष बर्दियामा १ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भए पनि यस वर्ष उत्पादन खस्किने जिल्ला कृषि विकास कार्यालयको आँकलन छ । बर्दियाको राजापुरमा सिँचाइ सुविधाका कारण रोपाइँ सुरु भए पनि अन्य ठाउँमा धान रोपाइँ सुरु नभएको गुलरियाका किसान राधेश्याम लोध बताउँछन् ।

पानी नपरेका कारण अहिलेसम्म २ प्रतिशत किसानले पनि रोपाइँ सुरु गर्न पाएका छैनन् । जलस्रोतमा धनी कहलिए पनि सिँचाइ सुविधा नहुँदा आकाशे पानी कुर्नुपर्ने धेरै किसानको नियतीजस्तै भएको छ ।

कृषिका माध्यमबाट आर्थिक विकासमा छलाङ मार्ने हाम्रो सपना पुरा गर्न कृषिका पूर्वाधारको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्