Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


एमाले ताप्लेजुङद्वारा फुङ्लिङ नगरपालिकाका मेयर प्याकुरेलमाथि कारबाही सिफारिस


0
Shares

शुक्रबार र शनिबार दुई दिन बसेको जिल्ला कमिटीको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नमागी प्याकुरेलले अर्कै पार्टीका उम्मेदवारलाई भोट मागेको र पार्टी उम्मेदवारको गलत प्रचार गरेको आरोप लगाएको हो ।

प्याकुरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि प्रदेश कमिटीसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको एमाले ताप्लेजुङले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा प्याकुरेललाई विजयी गराउन पार्टीले भूमिका खेलेपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई क्षति पुर्‍याउने काममा संलग्न भएको देखिएकाले सो निर्णय गरिएको जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिए ।

छत्रपति प्याकुरेललाई यसअघि वि.सं. २०७० मा पनि पार्टी हितविपरीत कार्य गरेको भन्दै जिल्ला कमिटीले निलम्बन गर्न माथिल्लो तहमा सिफारिस गरेको थियो ।

तर, माथिल्लो कमिटीबाट त्यसलाई स्वीकार नगरिँदा प्याकुरेल एमालेमा नै रहे । उनी एमाले प्रवेश गर्नुपूर्व राप्रपा पार्टीमा आबद्ध थिए ।

यस्तै, सोही बैठकले पूर्वसंसद भूपेन्द्र थेबे र उर्मिला थेबेलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

उनीहरुले पनि निर्वाचनमा पार्टी नीतिविपरीत कार्य गरेको भन्ने कार्यकर्ताबाट गुनासो आएकाले सो निर्णय भएको साम्सोहाङले जानकारी दिए ।