तर, दुई दलबीच सरकार गठन पहिले कि पार्टी एकता पहिले भन्नेमा परस्परविरोधी अभिव्यक्तिमात्र नभइ आलोपालो सरकारको नेतृत्व गर्ने विषय पनि सार्वजनिक हुन थालेको छ ।
गत असोज १७ गते एक समारोह गरी मुलुकका प्रमुख दुई वाम दल नेकपा एमाले र माओवादी केन्द्रले चुनावलगत्तै पार्टी एकीकरण गर्ने भन्दै चुनावी तालमेल गरेका थिए । दुई दलबीचको तालमेल सफल पनि भएको छ ।
तर, चुनावी परिणाम आएलगत्तै दुई दलबीच सरकारको नेतृत्व र पार्टीको नेतृत्वबारे पनि फरक–फरक धारणा आउन थालेका छन् ।
एमालेका एक प्रभावशाली नेताले सरकार र पार्टी नेतृत्व एकै व्यक्तिले गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि दुई दलबीच आशंका उब्जिएको हो ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘पालो–पालो सरकारको नेतृत्व गर्ने भनी भएको भनिएको सहमति’ले पार्टी एकताबारे थप अड्कलबाजी चल्न थालेको छ ।
सरकारको नेतृत्वबारे लामो समय मौन बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन बन्ने बेलामै आफू र एमाले अध्यक्ष ओलीबीच आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएको सार्वजनिक गरेका छन् ।
तर, यो विषयमा एमालेले सार्वजनिक धारणा बाहिर नल्याएपनि अनौपचारिकरुपमा एमालेका नेताहरुले दुई पार्टी एकीकरणको प्रक्रियामा ओली–दाहालबीच आलोपालो सत्ता चलाउने कुनै सहमति नभएको दाबी गरेका छन् ।
एमाले नेता प्रदीप ज्ञवालीले जनताले स्थीर सरकार र मुलुकको समृद्धिको पक्षमा मत दिएकाले जनमतको कदर गर्नुपर्ने बताए ।
दुई दलबीच चुनावी तालमेल भएकै समयमा ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व र अर्कोले सरकार चलाउने सहमति भएको चर्चा थियो । तर, आलोपालो सरकार चलाउने चर्चा सार्वजनिक भएको भने पहिलोपटक हो ।
परस्परविरोधी टिप्पणीका कारण वाम गठबन्धनको आगामी यात्राबारे विभिन्न अड्कलबाजी चल्न थालेका छन् ।
दुई वर्षअघि ०७२ असोजमा आफ्नो समर्थनमा प्रधानमन्त्री बनेका ओलीले त्यसबेला आलोपालो सहमति उल्लंघन गरेको भन्दै अध्यक्ष दाहाल ०७३ साउनमा नेपाली कांग्रेसका सभापति देउवासँग ओलोपालो सहमतिअनुसार प्रधानमन्त्री भएका थिए ।
विगतमा नेपाली कांग्रेस र एमाले, माओवादी केन्द्र र एमालेबीच भएको सत्ता सन्चालनको भद्रसहमति कार्यान्वयन हुन नसकेका उदाहरण छन् ।









प्रतिक्रिया दिनुहोस्