
गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)
काठमाडौं, पुस ३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनले कसलाई दोषी किटान गरेको छ भन्ने अहिले सबैको चासोको विषय भएको छ ।
यसैगरी, प्रतिवेदन सरकारले कहिले सार्वजनिक गर्छ भन्ने उत्सुकता पनि उत्तिकै छ ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन देशैभरि दबाब आन्दोलन भइरहेका छन् ।
छानबिनका लागि पटक–पटक भएका प्रयासले ठोस निष्कर्ष नदिएपछि र जनदबाब बढ्दै गएपछि सरकारले गत भदौ ३१ गते एआइजी धीरु बस्नेतको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति बनाएको थियो ।
त्यो छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन कहिले सार्वजनिक हुन्छ र कस्तो कारबाही अगाडि बढ्छ ? भन्ने जिज्ञासामा प्रहरी प्रवक्ता उत्तम सुवेदीले प्रतिवेदन प्रहरीको कानुन शाखामा जाने र कारबाहीको थालनी हुने बताएका छन् ।
निर्मला हत्याकान्डमा छानबिन गर्न गठित यसअघिको समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । अहिलेको प्रतिवेदन भने गृह मन्त्रालयसम्म पुगेको छैन ।
यसैबीच, सोमबार प्रतिवेदन बुझाउनेबेलामा पोखरामा रहेका प्रहरी प्रवक्ता सुवेदीले मंगलबार काठमाडौं फर्किएपछि हामीसँग कुरा गर्दै प्रतिवेदन बुझाउँदा ११ जना सदस्यको नै हस्ताक्षर रहेको दाबी गरेका छन् ।
प्रतिवेदनका विषयमा सोमबार हामीसँग कुरा गर्दै उच्च स्रोतले प्रतिवेदनमा दुईजनाले हस्ताक्षर नगरेको बताएको थियो ।
स्रोतकाअनुसार प्रतिवेदनमा छानबिनकैक्रममा धम्की आएको, ८ जनाले ‘पोलीग्राफ टेस्ट’मा झुटो बोलेको, घटनापछिमात्र प्रमाण राखिएकोलगायतका विषय पनि रहेकाले तत्काल प्रतिवेदनको तथ्य प्रधानमन्त्री तथा गृहमन्त्रीको जानकारीमा आउनुपर्ने र दोषीलाई सजाय गर्नुपर्ने हुन्छ ।
तर, धीरु बस्नेत समितिले प्रतिवेदन बुझाइसक्दा पनि दोषी भने सार्वजनिक हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्