१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


‘प्रेमिका’को घाँटी रेट्ने समातिए


0
Shares

प्रकाश धौलाकोटी (इमेज)

तेह्रथुम, पुस ३ । तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरीनजिकै खुकुरीले आफ्नी ‘प्रेमिका’को घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई मंगलबार दिउँसो तेह्रथुमको लुमुघाटबाट पक्राउ गरेको हो ।

भण्डारीले छथर गाउँपालिका–२ की ३० वर्षीया नमुना बोहराको घाँटी रेटेर फरार भएका थिए ।

बेहोस अवस्थामा फेलापरेकी बोहरालाई सोमबार स्थानीयले फेलापारेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएका थिए ।

प्रहरीकाअनुसार बोहरा र भण्डारी आइतबार राति डङडङेस्थित कमल शेर्पाको घरमा बास बसेका थिए ।

बिहान उठेर मार्गापोखरी धाममा दर्शन गर्न गएका थिए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु एकापसको सल्लाहमै विवाह गर्नेगरी गएको प्रहरीको भनाइ छ ।

घाँटी रेटेर बेहोस रहेकी महिलासँगै उनको झोला, युवकको चप्पल र झोलामा सिन्दुरपोतेसमेत फेलापरेको थियो ।

पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखिएको प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले बताए ।

भण्डारी विवाहित छन् भने बोहरा अविवाहित रहेको खुलेको छ ।

घाँटीमा गम्भीर चोट लागेकी बोहराको उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।