Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


मनाङको लगातार नवौं जित


0
Shares

काठमाडौं, पुस ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबले नवौं चरणसम्म दोस्रो स्थानको टिमकोभन्दा स्पस्ट ३ अंकको अग्रता हासिल गर्न सफल भएको छ ।

नवौं खेलमा मंगलबार च्यासल युथ क्लबमाथि ३–१ को जितसहित मनाङले शतप्रतिशत नतिजालाई कायमै राखेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जिताउन एड्लाजा सोमिदे, अफिज ओलावाले र बिमल रानाले १/१ गोल गरे ।

खेलको इन्जुरी समयमा देवेन्द्र तामाङले पेनाल्टीमार्फत् च्यासललाई १ सान्त्वना गोल दिलाए ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै मनाङका कमल श्रेष्ठले १० हजार रुपैयाँ पाए ।

जितसँगै मनाङको ९ खेलबाट २७ अंक भएको छ भने दोस्रो स्थानको संकटा क्लबको २४ अंक छ ।

त्यसैगरी, एक खेल कम खेलेको थ्रीस्टार क्लब २१ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १७, पाँचौं स्थानको नेपाल पुलिस क्लबको १४, छैटौं स्थानको हिमालयन शेर्पा क्लबको १४ र सातौं स्थानको च्यासलको १३ अंक छ ।

सशस्त्र आठौं स्थानमा

मंगलबार नै भएको पहिलो खेलमा मच्छिन्द्र क्लबलाई ३–१ ले हराएको सशस्त्र प्रहरीको एपीएफ क्लब १३ अंकबाट आठौं स्थानमा छ ।

सशस्त्रका आशिष लामा, युवराज खड्का र रुपबहादुर लामाले १/१ गोल गर्दा मच्छिन्द्रका अलाबा अडेमोलाले १ सान्त्वना गोल फर्काएका थिए ।

बुधबार दुई खेल

लिगअन्तर्गत् बुधबार पुलिसले ब्रिगेड ब्वाइज क्लबसित तथा थ्रीस्टारले आर्मीसित खेल्नेछन् ।