
काठमाडौं, पुस ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन, भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनको साथबाट सुनजस्तो देखिने पहेंलो धातु ११६ ग्रामका चार बिस्कुट र करिब ५० ग्रामको एकथान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
कतार एअरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचकाक्रममा बिहान पक्राउ गरिएको हो । सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित नीलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेंलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई सोमबार साँझ उक्त धातुसहित पक्राउ गरिएको हो ।
ठगी गर्ने उद्देश्यले पहेंलो धातु लिएको खुल्न आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यता, चन्द्रागिरि नगरपालिका–१५, तीनथाना बस्ने मनोज चापागाइँको घरको मुलढोकाको ताल्चा फोडेर करिब रु एक लाख ६९ हजार बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्