
काठमाडौं, पुस ३ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ दुई ठूला क्लबबाट सम्झौता गरेपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वन्चित भएका छन् ।
जारी लिगमा नवौं चरणका खेल सकिँदासम्म अनन्तले कुनै क्लबबाट सहभागिता जनाउन पाएका छैनन् ।
नेपालका दुई चर्चित क्लब मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लबबाट सम्झौता गरेका कारण अनन्त अहिले आफैं खेल्नबाट वन्चित भएका हुन् । यिनै दुई क्लब अहिले उपाधि होडमा छन् ।
दुवै टोलीले अनन्तले आफ्नो क्लबबाट सम्झौता गरेको दाबी प्रस्तुत् गरेपछि उनी लिग खेल्नबाट वन्चित भएका हुन् ।
अनन्तले गत वर्ष भने थ्रीस्टारबाट मोफसलका प्रतियोगिता खेलेका थिए । तर, गत वर्ष लिग फुटबल हुन सकेन ।
थ्रीस्टारसँगको लिगका लागि सम्झौता हुँदाहुँदै उनले यस वर्ष लिगका लागि मनाङमा सम्झौता गरेपछि विवाद सुरु भएको थियो ।
एउटा खेलाडीले दुईओटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारबाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।
एन्फा प्रवक्ता किरण राईले दुई क्लबले अनन्तसँगको सम्झौता प्रस्तुत् गरेपछि अप्ठ्यारो परेको बताए ।
‘अनन्तले नै केही कमजोरी गरेकाले लिग खेल्न पाएनन् । समस्याको समाधानका लागि हामी प्रयासरत् छौं’–राईले भने ।
प्रवक्ता राईले भने–‘औपचारिकरुपमा क्लबबाट वा खेलाडीबाट एन्फामा निवेदन परेको छैन । समस्या आइसकेपछि हामीले नै दुई क्लबलाई अन्तरिकरुपमा मिल्न भन्यौं । तर, त्यस्तो सहमति हुन सकेन । यस्तो अवस्था रहे उनले यस वर्षको लिग खेल्ने सम्भावना कम छ ।’
कुनैपनि क्लबले नयाँ खेलाडी अनुबन्ध गर्दा पुरानो क्लबको रिलिज लेटर (फुकुवा गरेको प्रमाणपत्र) चाहिने गर्छ । मनाङले भने उक्त प्रमाणपत्रबिनै अनन्तलाई यस वर्ष अनुबन्ध गरेका थियो ।
दुवै क्लब उपाधि होडमा रहेकाले पनि उत्कृष्ट खेलाडीलाई आफ्नो क्लबबाट खेलाउन चाहन्छन् । आफ्नो क्लबबाट खेलाउन नपाए खेल्नै नदिने दुवै क्लबको रणनीति देखिन्छ ।
एन्फाले समस्या समाधानका लागि छलफल बढाएपनि दुई क्लबबीच सहमति जुटाउन सकेको छैन ।
लिग सुरु भएको अढाइ महिनाभन्दा लामो समय बित्दा पनि एउटा राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडीले लिग खेल्न नपाउनु दुःखको विषय भएको बताउँछन्, खेलविज्ञ सञ्जीव मिश्र ।
पछिल्लो समय अनन्त राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन् । नेपालको रक्षापंक्तिमा उनको प्रदर्शनले नै निर्णायक भूमिका खेल्दै आएको छ ।
युवा उमेरमा नै उनले आफूलाई राष्ट्रिय टोलीको खम्बाकारुपमा स्थापित गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्