
सोमबार माडीको बाँदरझुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यसअघि नै सबै दल बहुमतीय निर्वाचन प्रणालीमा जान सहमत भइसकेकाले चुनावमा कमजोर परिणाम आयो भनेर कांग्रेसले कुरा फेर्न नहुने बताए ।
उनले कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमै बहुमतीय प्रणालीको विधेयकलाई सदनमा पठाएको तर कांग्रेसले एकतर्फीरुपमा राष्ट्रपतिसमक्ष अध्यादेश लगेको दाबी गरे ।
अध्यक्ष दाहालले वर्तमान संविधानमा एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने उल्लेख नै नभएको जिकिर गरे ।
‘खेलको नियम बनाएर मैदानमा छिरेसकेपछि अर्को नियम चाहियो भन्नु इमान्दारिता नहुने’ उनको तर्क छ ।
दाहालले वामपन्थी एकतालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोहोर्याए । उनले माओवादी केन्द्र र एमाले पार्टी एकीकरणको अन्तिम तयारीमा लागेकोसमेत दाबी गरे ।
दाहालले नयाँ सरकार बनेपछि माडीको बाँदरझुला बस्ती स्थानान्तरण, जंगली जनावरको समस्या समाधान र रोजगार दिलाउने आश्वासन पनि दिए ।
सोमबारै दाहाल पर्सा जिल्लाको ठोरी गाउँपालिका पुगेका छन् । सोक्रममा आयोजित कार्यक्रममा बोल्दै उनले ठोरी गाउँपालिकालाई अब प्रदेश नम्बर–३ मा गाभिने बताए ।
प्रतिक्रिया दिनुहोस्