१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने


0
Shares

लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत कामसम्पन्न भइसकेको जनाएको छ ।

लिमिटेडका महाप्रबन्धक डा.रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए १५ दिनभित्र भारतबाट दुईओटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिए ।

सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो ।

महाप्रबन्धक सुवेदीले भने, ‘आगामी माघ दोस्रो सातासम्म सिटामोल उत्पादन गरी बजारमा लैजाने लक्ष्य राखेका छौँ, ९० प्रतिशतभन्दा बढी कामसम्पन्न भएको र यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेका छ ।’

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधि (जिएमपी)मा तोकिएबमोजिम नवीकरण गरी सकिएको र प्रयोगशालाको भौतिक पूर्वाधार निर्माण कार्य पनि सकिएको लिमिटेडले जनाएको छ ।

आधुनिक विश्लेषणात्मक उपकरण खरिद गरी जडान गरिएको लिमिटेडका सचिव टीकाराम अर्यालले बताए ।

उनले भने, ‘विश्वस्तरीय जिएमपी मापदन्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २८ भन्दा बढी प्रकारका आधुनिक प्रविधियुक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ ।’

पूर्णरुपमा सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो ।

विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको लिमिटेड २०६७ सालमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय मापदन्डअनुसार ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) अनिवार्य गरेपछि बन्द भएको थियो ।

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्व रहेको लिमिटेड तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनःसन्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सरकारले जिएमपीअनुसार पुनःसन्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु ६ करोड ४८ लाख रुपैंया निकासा गरेको थियो । दोस्रो चरणको बजेट आउन भने बाँकी छ ।

क्याप्सुल, ‘पेन्सिलिन’ ग्रुपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप ‘एन्ट्राभेनम’का लागि शाखासमेत सन्चालनमा ल्याई स्लाइन तथा ‘हेमोडाइलासिस फ्युल्ड’जस्ता अति आवश्यक औषधिहरूको उत्पादनका लागि प्रष्ट कार्यसूचीका तयार भएको लिमिटेडले जनाएको छ । रासस