स्थिर सरकार गठनको एजेन्डासहित निर्वाचनमा गएको वाम गठबन्धनले दुई तिहाईनजिकको बहुमत पाएको छ । तर, सरकार गठन गर्ने बिषयमा भने गठबन्धनभित्रै खटपट सुरु भएको छ ।
पार्टी एकतादेखि स्थायी सरकार गठनको लोकप्रिय नारा दिएर चुनावी ‘लगनगाँठो’ कसेका दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनको गाँठो चुनावी नतिजा आएसँगै खुकुलिन थालेको आशंका बढेको छ ।
दुई वटा पार्टीबीच एकता गराएर स्थिर सरकार गठन गर्ने बाचा गरेको नेकपा एमालेले नयाँ सरकार गठनको तयारी भइरहेका बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग सरकार गठनका विषयमा छलफल अगाडि बढाएपछि बाम गठबन्धनबीच खटपट सुरु भएको बताइएको छ ।
यद्यपि यो भेटघाटमा सरकार गठनको विषयले प्रवेश नै नपाएको यादवले समेत स्पष्ट पारिसकेका छन् । सरकार गठनकै विषयमा माओवादी केन्द्रभित्र पनि बेग्लाबेग्लै धारणा बाहिर आउन थालेका छन् ।
दुबै दलबीच सरकार गठन पहिले कि पार्टी एकता पहिले ? भन्ने बहस पनि सुरु भएको । दुवै दलका कतिपय नेताहरुमा पार्टी एकतापछिको स्वरुप र पदीय भागबण्डाले पिरोल्न थालेको कारण एकताको प्रक्रिया अलमलमा परेको चर्चा पनि सुनिएको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १ सय ३८ सांसद संख्या पुर्याउनुपर्ने हुन्छ । प्रतिनिधिसभामा एमालेको १ सय २१ र फोरमको १६ सांसद हुने छन् ।
त्यसमा नेपाल मजदुर किसान पार्टी, नयाँशक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ आफूले पाउने आशा एमालेले गरेको बताइन्छ ।
त्यही आशाका साथ एमालेले माओवादी केन्द्रका कतिपय नेताले दिएको घुर्कीप्रति खासै खासो नदेखाएको माओवादीतर्फका केही नेताको आशंका छ भने एमालेका कतिपय नेतामा माओवादीलाई कांग्रेस सभापतिले प्रधानमन्त्रीको अफर गरेको र भारतीय दूतावासको लञ्च मिटिङमा माओवादी नेता पनि सहभागी भएकोमा आशंका बढेको पाइन्छ ।
यद्यपि एमाले र माओवादी अध्यक्षबीचको वार्तासँगै आशंकाहरु मेटिँदै जाने र पूर्ववत्रुपमै बाम गठबन्धनको सरकार गठन र पार्टी एकता प्रक्रियाले गतिलिने दुवै पार्टीका नेताहरुको दावी छ ।
राजनीतिक बिश्लेषक पुरुषोत्तम दाहाल पनि गणितीय जोड घटाउमा नलागी बामगठबन्धनकै सरकार बनाउनेतर्फ लाग्दा मुलुकले निकास पाउने भएकोले त्यतैतर्फ अग्रसर हुने विश्वास व्यक्त गर्छन् ।
सरकार गठनमा बहुमत जुटाउन एमालेलाई जति सहज छ, माओवादी केन्द्र या कांग्रेसलाई त्यति सहज देखिँदैन ।
तैपनि सरकारको नेतृत्वको विषयमा दलहरुबीचको भित्रि दाउपेचले गठबन्धनमा संकट नआउला भन्न नसकिने विश्लेषकहरुको बुझाइ छ ।
गणितीय जोड घटाउ जे भए पनि मुलुकलाई निकास दिने विषयमा अब पनि राजनीतिक दलले बेइमानी चाहिँ गर्नु हुन्न ।
बामगठबन्धनबीचको चुनावी गाँठो फुस्किए जनताले बाम गठबन्धनलाई दिएको अभिमतको उपहास हुने छ ।









प्रतिक्रिया दिनुहोस्