१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पाँच वर्षमुनिका बालबालिकामा हुने ‘रेटिनोब्लास्टोमा’बारे जानौं


0
Shares

कहिले–काहीँ सामान्य समस्याले यस्ता लक्षण देखिएको भएपनि यो पाँच वर्षमुनिका बालबालिकालाईमात्र देखिने आँखाको पर्दामा हुने एक प्रकारको क्यान्सर ‘रेटिनोब्लास्टोमा’को कारण पनि हुनसक्छ ।

पाँच वर्षमुनिका बालबालिकाका आँखामा हुने विभिन्न रोगमध्ये रेटिनोब्लास्टोमा पनि एक हो ।

तिलगंगा आँखा प्रतिष्ठानका आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितले यो रोग निकै कम मात्रा देखिएपनि यसबाट आँखाको ज्योति गुमेर आँखै फाल्नुपर्ने वा रोग पुरानो भएर ज्यानै जानसक्ने पनि बताइन् ।

उनले भनिन्–‘रेटिनोब्लास्टोमा जटिल रोग भएपनि समयमै पत्ता लगाउनसकेमा आँखाको ज्योति बचाउनाका साथै रोग निको पार्न पनि सकिन्छ ।’

तिलगंगामा अघिल्लो वर्ष आएका ४० भन्दा बढी बालबालिकामा आँखाको क्यान्सर अर्थात् रेटिनोब्लास्टोमा देखिएको थियो ।

बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जका बाल नेत्ररोग विशेषज्ञ डा. ज्योति श्रेष्ठकाअनुसार सुरुआतका दिनमा आँखामा यस्ता परिवर्तनहरु देखिन थाले पनि बच्चा स्वस्थ नै देखिन्छ, तर विस्तारै देख्नसक्ने क्षमतामा भने कमी आइरहेको हुन्छ ।

बच्चाको आँखा रातो हुँदा उनीहरुमा दुखाइ हुने, चिटचिडाहट हुने र झगडालु पनि हुनसक्छन् । तर, त्यसबारे आमालाई वा परिवारका अरुलाई थाहा नै हुँदैन । सुरुआती दिनमा रोग पत्ता नलाग्दा उपचार गर्न ढिला भइसक्ने चिकित्सकको अनुभव छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बाल नेत्रविशेषज्ञ डा. सविना श्रेष्ठले फ्ल्यास क्यामेराले फोटो खिच्दा बच्चाको आँखाको नानीमा सेतो थोप्लो भए प्रस्ट देखिने भएकाले थाहा पाउन सजिलो हुने बताइन् ।

उपचारमा ढिलाइ हुँदै जाँदा वा उपचार नभएमा नानीमा देखिएको सेतो भाग फैलिएर विस्तारै डल्लोबाहिर निस्कने तथा आँखाको आकार असामान्यरुपमा ठूलो हुँदै जान्छ ।

यसरी आँखाबाहिर निस्किएपछि त्यसको असर (क्यान्सर) आँखाको बाहिर तथा शरीरको अन्य अंग जस्तै, मस्तिष्क, कलेजो, बोनम्यारो आदिमा फैलिएर अरु समस्या देखिन्छ । यसले बच्चाको ज्यान जोखिममा पर्ने डा. श्रेष्ठले बताइन् ।

अमेरिकामा हरेक २० हजार बालबालिकामध्ये एकजनामा यो रोग देखिन्छ । सबैभन्दा बढी हाइटीका १० हजार बालबालिकामध्ये एकजनामा यस्तो समस्या देखिएको पाइएको छ ।

सबैभन्दा कम नेदरल्यान्डमा ३५ हजार बालबालिकामध्ये एकजनामामात्र यस्तो समस्या देखिएको छ । तर, नेपालमा भने अहिलेसम्म यसबारे कुनै तथ्यांक राखिएको पाइएको छैन ।

चिकित्सककाअनुसार यो रोगको बाहिरी कारण नभएर वंशाणुगत कारणले देखिन्छ । परिवारका कुनै सदस्यलाई रेटिनोब्लास्टोमा भएमा तीन पुस्तासम्मका बच्चालाई यो रोगको जोखिम रहन्छ ।

परिवारमा पहिले नै यो रोग देखिए गर्भावस्थामा पनि जाँच गर्न चिकित्सकले सुझाव दिने गरेका छन् ।

आँखाको भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआइजस्ता जाँचबाट यो रोग पत्ता लगाउन सकिन्छ ।

बच्चामा रेटिनोब्लास्टोमा सुरुकै अवस्थामा पत्ता लागेमा भने औषधि, लेजरप्रविधि वा केमो दिएर पनि निको पार्न सकिने डा. स्थापितले बताइन् ।

‘रोग देखिएपछि केमोथेरापी दिएर उपचार गरिन्छ । तर, निकै ढिला भएमा वा आँखाबाहिर निस्केको अवस्थामा भने शल्यक्रिया गर्नुपर्छ’–उनले भनिन् ।

आँखाको ट्युमर सानो वा पहिल्यै थाहा भएमा ठूलो हानि नहुने गरी लेजरजस्ता साधारण प्रक्रियाद्वारा उपचार गर्ने गरिन्छ ।

डा. स्थापितकाअनुसार रोग ढिला भइसकेपछि भने आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हड्डी निकाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आँखाको ज्योति गुम्छ ।

काठमाडौंका आँखाका प्रमुख अस्पतालहरु बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, तिलगंगा आँखा अस्पताल र नेपाल आँखा अस्पतालमा रेटिनोब्लास्टोमाको उपचार हुन्छ ।

नेपालमा आँखाका सबै प्रकारको रोगका लागि राम्रो र सुलभ उपचार सेवा पाइने बताइन्छ ।

त्यसैले आफ्नो र आफ्ना बालबालिकाहरुको आँखाको जाँच हरेक ६ महिनामा गर्ने बानी बसाल्नसके राम्रो हुन्छ ।

वर्षमा एकपटक भने अवश्य चिकित्सकलाई देखाउन बाल नेत्रविशेषज्ञ डा. सविना श्रेष्ठको सुझाव छ ।

नेपालमा निकै ढिलामात्र अभिभावकले बच्चाको आँखाको क्यान्सरबारे थाहा पाउने गरेको चिकित्सकको भनाइ छ ।