१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


पर्वतमा २० प्रतिशत रोपाइँ सम्पन्न


0
Shares

पर्वत, असार १५ । मानो खाएर मुरी उब्जाउने महिना असारको मध्यसम्म पर्वतका धान उत्पादन हुने कुल जमिनको २० प्रतिशतमा रोपाइँ सकिएको छ ।

यसवर्ष समयमै वर्षा शुरु भएकाले पर्वतका ग्रामिण क्षेत्रमा रोपाइँ गर्न भ्याईनभ्याई भएको हो । जिल्लाका सबैजसो क्षेत्रमा रोपाइँ शुरु भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

कुश्मा नगरपालिकाका खौलालाकुरी, ठुलीपोखरी, पकुवा, दुर्लुङ्ग, पिपलटारी, आर्थर, फलेवास नगरपालिकाका कार्कीनेटा, शंकरपोखरी, थापाठाना, भँगरा, जलजलाको केही वडा र मोदी गाउँपालिकाका देउपुर, देउराली, बाजुङ लगायतका स्थानमा रोपाइँ गर्न भ्याईनभ्याई छ ।

त्यस्तै महाशिला, पैंयु र विहादी गाउँपालिकामा पनि रोपाइँ भइरहेको छ ।

सबैभन्दा बढी मोदी गाउँपालिकामा रोपाइँ भएको कार्यालयले जनाएको छ । यस वर्ष जेठको अन्तिम सातादेखि नै वर्षा भएकाले जिल्लाका ७ स्थानीय तहका सबै वडामा कृषकलाई रोपाइँ गर्न भ्याईनभ्याई भएको वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

यसवर्ष असार महिनाभित्रै रोपाइँ सकिने अनुमान गरिएको छ । असारमै रोपाइँ सकिएर साउन महिनाभर वर्षा निरन्तर भइरहे उत्पादनमा पनि दोब्बर बृद्धि हुने अनुमान गरिएको छ ।