प्रदीप पौडेल (इमेज)
पोखरा, पुस २ । नेपाल पुुलिस क्लब पोखरामा जारी चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब समान ६/६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।
हेल्प नेपाल स्पोर्टस् क्लब ५ अंकका साथ चौथो स्थानमा छ । यस्तै, नयाँबजार सामाजिक युवा क्लब १ अंकका साथ पाँचौं स्थानमा छ ।
पुलिसले सोमबार जावलाखेल युथ क्लब र नयाँबजार युवा क्लबलाई पराजित गर्यो ।
सोमबार भएको पहिलो खेलमा जावलाखेलमाथि सोझो सेटमा जित हासिल गर्दै आत्मविश्वासी देखिएको पुलिसले भारतीय खेलाडी सम्मिलित नयाँबजारलाई दिनको अन्तिम खेलमा चौथो सेटमा पराजित गर्यो ।
पुलिसले नयाँबजारलाई २५–२२, २५–२१, १९–२५ र २५–१३ को सेटमा हरायो ।
यस्तै, सशस्त्रले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्यो । सशस्त्रले मणिमुकुन्दलाई २५–१८, २५–१५ र २५–१७ ले हरायो ।
सोमबारै आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा हरायो । आर्मीले ढोरपाटनमाथि २५–१९, २५–१७ र २५–१२ को जित निकालेको हो ।
सोमबारै हेल्प नेपालले नयाँबजारसँग पाँच सेट खेल्दै अंक बाँड्यो । हेल्प नेपाल २ र नयाँबजारले १ अंक प्राप्त गरे ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा सन्चालित प्रतियोगिताको विजेता क्लबले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले एक लाख हात पार्नेछ भने तेस्रो हुने क्लबले ५० हजार रुपैयाँ पाउनेछ ।
उत्कृष्ट खेलाडीले २५ हजार तथा बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट डिफेन्स र बेस्ट सर्भरले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्