एमाले–माओवादी केन्द्रबीच पार्टी एकता कहिले–कसरी ? (भिडियो) • Image Khabar Image Khabar


एमाले–माओवादी केन्द्रबीच पार्टी एकता कहिले–कसरी ? (भिडियो)


Imagekhabar
१३ पुष २०७४, बिहीबार १७:१०

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता कहिले–कसरी ? (भिडियो)

पार्टी एकताको जनादेश प्राप्त भइसकेकाले केही नेतालेमात्र आफ्नो ठाउँ खोज्न अनावश्यक हल्ला चलाइरहेको र मूल नेतृत्व पार्टी एकतामा दृढ रहेको दाबी गरिएको छ ।

एमाले र माओवादी केन्द्रले पार्टी एकता नै गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा होमिएका थिए । परिणाम गठबन्धनका पक्षमै देखियो । देशभर चुनावी उभार देखियो पनि ।

तर, निर्वाचन परिणाम सार्वजनिक भएपछि जुनरुपमा पार्टी एकताका लागि नेताहरुले समय दिनुपर्ने थियो, त्यो नहुँदा आशंका गर्नेहरुले मौका पाए । केही नेताले आफूलाई केन्द्रमा राखेर अभिव्यक्ति पनि दिन थाले ।

पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठकसमेत बस्न सकेको छैन । जसले आशंका गर्नेहरुलाई मलजल पुगेको छ ।

बरु, यो बीचमा एमालेइतरको सरकार बनाउन माओवादी नेतृत्व लागेको तथा माओवादीबिनै सरकार बनाउन एमाले नेतृत्वले चलखेल गरेको कुरा पनि आए । तर, हल्लामा आएका सबै कुरा मनगढन्ते रहेको एमाले र माओवादी नेतृत्वनिकटका नेता बताउँछन् ।

पार्टी एकताका लागि मूल नेतृत्व दृढ रहेको दुवै पार्टीका नेताको भनाइ छ । एकता प्रक्रियामा भने दुवै पक्षका अलग मत छन् ।

पार्टी एकता बढीमा वर्षभित्र टुंग्याइसक्नुपर्ने माओवादीको मत छ भने एमाले एकता हुन दुई/तीन वर्ष लाग्नसक्ने बताउँछ ।

निर्वाचन आयोगले परिणाम दिइ नसकेकाले औपचारिक परिणामको प्रतिक्षामा रहेका दुवै दलका नेताहरु सरकार निर्माणका विषयमा खासै तयारी नगरेको बताउँछन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्