१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


९ महिनामै क्षयरोग निको हुने, ‘छोटो अवधि उपचार विधि’ सुरु


0
Shares

यसअघि बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले सन् २०१८ देखि ‘एसटिआर’ उपचार विधि अपनाउने क्रममा बिहीबारदेखि ‘एसटिआर’ सुरु गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

‘एसटिआर’ उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डा.केदारनरसिंह केसीले जानकारी दिए । पहिलो चरण चार महिना र दोस्रो चरण पाँच महिनाको हुनेछ । डा.केसीले पहिलो चरणमा सुईसहित ६ प्रकारका औषधि र दोस्रो चरणमा चार प्रकारका औषधि प्रयोग गरिने बताए । यो विधि हाललाई फोक्सोका क्षयरोगीलाई मात्र उपयोग गरिने जनाइएको छ ।

केन्द्रले नौ महिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौं, विराटनगर, बुटवल र नेपालगन्जबाट सुरु गर्न लागेको छ । साविकमा क्षयरोगीलाई बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएकामा धेरै औषधिको मिश्रण गरेर २० देखि २४ महिनासम्म उपचार गर्नुपर्दा औषधिको नकारात्मक प्रभाव, औषधिले उत्पन्न गर्ने विषाक्तता, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्दा पर्न आउने कठिनाइसमेतलाई ध्यानमा राखेर एसटिआर विधि उपयोगमा ल्याइएको डा.केसीले बताए ।

यो विधि अपनाउने नेपाल विश्वको ३५औं मुलुक हो ।

केन्द्रले सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने योजनानुसार पहिलोपटक बृहत् रुपमा क्षयरोगको प्रारम्भिक सर्वेक्षण गर्न लागेको छ । क्षयरोगको वर्तमान अवस्था, थपिने नयाँ क्षयरोगीको संख्या र यसले समाजमा पारेको प्रभाव तथा यसबाट जनस्वास्थ्यमा देखापर्ने चुनौतीका विषयमा थप जानकारी र वास्तविक तथ्यको गहिराइसम्म पुग्ने उद्देश्यले सर्वेक्षण गर्न लागिएको डा.केसीले भने ।

देशभरका हिमाल, पहाड र तराई समेट्ने गरी ५५ जिल्लाका ९९ समूहका करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घरदैलोमा पुगी अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणका माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गरिने सर्वेक्षणका लागि आवश्यक प्रारम्भिक परीक्षण र अभिमुखीकरणलगायत कार्यसम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।

डा.केसीले नेपाललाई क्षयरोगमुक्त बनाउने अभियानअन्तर्गत अल्पकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजनासहित प्राथमिकताका क्षेत्र निर्धारण गरी राष्ट्रिय रणनीतिक योजना, २०१६–२०२१ समेत तयार गरी प्रकाशन गरिसकिएको जानकारी दिए । रासस