काठमाडौं, पुस २ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण पूरा भएको छ ।
समूह चरणको अन्तिम खेलमा सोमबार काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं ५ विकेटले विजयी भयो ।
१०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
काठमाडौंका लागि केभिन ओ’ब्राइनले ४३ बलमा अविजित रहँदै ४५ तथा प्रर्दीप साहुले २३ बलमा २१ रन बनाए ।
विराटनगरका कप्तान पारस खड्का र रोएलोफ् भान्डर मार्वेले समान २/२ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो ।
काठमाडौंका लागि अलराउन्डर ओ’ब्राइनले ३ तथा रोहन मुस्तफा, साहु र बिक्रम भुसालले समान २/२ विकेट लिएका थिए ।
यो जितसँगै काठमाडौं क्वालिफायरमा पुग्दा हारले विराटनगर प्लेअफबाट बाहिरएको छ ।
८ अंकको ललितपुर शीर्ष स्थानमा रहँदै यसअघि नै क्वालिफायरमा पुगेको थियो भने काठमाडौं रनरेटमा दोस्रो भयो ।
त्यसैगरी, भैरहवा ग्लाडियटर्स ६ अंकसहित तेस्रो तथा चितवन टाइगर्स विराटनगरभन्दा रनरेटमा अगाडि रहँदै ४ अंकसहित प्लेअफमा पुग्यो ।
६ टिम सहभागी प्रतियोगिताबाट विराटनगर र अंकविहीन पोखरा राइनोज बाहिरिएका हुन् ।
पहिलो क्वालिफायर खेल मंगलबार
पहिलो क्वालिफायर खेल मंगलबार ललितपुर र काठमाडौंबीच हुनेछ । विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले भैरहवा र चितवनबीचको इलिमिनेटर खेलको विजेतासँग फाइनलका लागि खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्