
काठमाडौं, पुस २ । धर्मनिरपेक्षताको नाममा सरकार नै धर्म परिवर्तनको संरक्षक बनेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्र कायम गर्नेबारे बहस चलेको छ । कतिपय महासमिति सदस्यहरुले कांग्रेसले महासमिति बैठकबाट नै हिन्दु राष्ट्र कायम गर्नेबारे निर्णय गरेर अन्य पक्षसँग छलफल चलाउन माग गर्दै हस्ताक्षर अभियान नै चलाएका छन् ।
महासमितिमा पेश गरिने राजनीतिक दस्तावेजमा धर्मको बारेमा उल्लेख नभएको भन्दै केन्द्रीय समितिमा केही सदस्यहरुले आपत्ति जनाएका थिए । संविधानमा उल्लेखित धर्मनिरपेक्षतालाई कांग्रेसले परिवर्तनको उपलब्धीहरुमध्ये एक मानेका कारण पनि नेतृत्व लिखित रुपमा योे विषयलाई दस्तावेजमा राख्न सहमत भएन । महासमितिमा आफ्नै ढंगबाट सो विषय प्रवेश गराउने भन्दै केही केन्द्रीय सदस्यहरु हस्ताक्षर अभियानमा नै जुटे ।
लगभग चार सय महासमिति सदस्यले हस्ताक्षर नै गरे । पार्टी नेतृत्वले आँट गरे हिन्दुराष्ट्र बनाउने अभियानमा आफुहरु पनि रहेको बताउने कांगे्रसभित्र धेरै छन् ।
यसअघि नवलपरासीको त्रिवेणीधाममा बसेको कांग्रेस महासमिति बैठकमा पनि हिन्दुराष्ट्र बनाउने विषयमा महासमिति सदस्यहरुले हस्ताक्षर अभियान चलाएका थिए । अहिले काठमाडौंमा जारी महासमिति स्थल आसपास ‘सनातन हिन्दुराष्ट्र कायम गरौं’ भन्ने फ्लेक्स पनि झुण्डिएका छन् । महामन्त्री डा. शशांक कोइरालाले समेत हिन्दुराष्ट्रमा जानु पर्ने अभिव्यक्ति बेलाबखत दिने गरेका छन् ।
महासमिति सदस्य एंव पूर्वमन्त्री लक्ष्मण घिमिरे धर्म संस्कृति र राष्ट्रियताको रक्षाका लागिसमेत हिन्दुराष्ट्रमा जाने संकल्प कांग्रेसले गर्नुपर्ने बताउँछन् ।
महासमिति सदस्य एवं पूर्वसांसद बुद्धिराम भण्डारी संविधान निर्माणका बेला जनमत संकलन गर्न जाँदासमेत बहुसंख्यक जनताले हिन्दु राष्ट्र कायम गर्न सुझाव दिएकाले कांग्रेसले यो महासमितिबाट यसबारे निर्णय गर्नुपर्ने बताए ।
एशिया प्यासेफिक समिटपछि धर्मप्रति जनताको चासो झनै बढेर गएको छ । अमूक धर्मको प्रचारमा सरकार नै लागेपछि सुझबुझपुर्ण ढंगबाट संस्कृति जगेर्नाका लागि पनि हिन्दुराष्ट्रमा जानुपर्ने बताउँछिन् महासमिति सदस्य एंव राष्ट्रिय सभा सांसद धना खतिवडा ।
धर्म व्यक्तिको नितान्त व्यक्तिगत विषय हो । धर्मसँग संस्कार र संस्कृति त जोडिन्छ नै, योसँगै समाजलाई सुसज्जित र मर्यादित बनाउने नैतिक बन्धन पनि हो । तसर्थ धर्मका बारेमा बहस गर्दा समाजिक सद्भावमा खलल पुग्न नदिनेतर्फ पनि सबै सचेत हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्