३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


इजिप्टको चर्चमा आक्रमण हुँदा मारिनेको संख्या १२ पुग्यो


0
Shares

कायरोको दक्षिणी क्षेत्र हेलवानस्थित मार मिना चर्चमा शुक्रबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुईजना प्रहरी अधिकृतसहित कम्तिमा चारजना मारिएको एक घन्टापछि बन्दुकधारीले पुनः आक्रमण गर्दा मारिनेको संख्या १२ पुगेको हो । आक्रमणमा अरु कैयौं घाइतेलाई अस्पताल भर्ना गरिएकोमध्ये दुईजनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

बन्दुकधारीले पहिलोपटक आक्रमण गर्दा दुई जना प्रहरी अधिकृतसहित चारजना मारिएपछि एकजना बन्दुकधारीलाई प्रहरीले जवाफी कारबाहीमा मारेर उनीहरुको आक्रमण नियन्त्रणमा लिएका थिए ।

तर, उक्त घटना घटेको एक घन्टापछि बन्दुकधारीले मार मिना चर्चको नजिकै रहेको कोप्टिक समुदायको क्रिस्चियनद्वारा सन्चालित एक पसलमा पुनः आक्रमण गर्दा मारिनेको संख्या १२ पुगेको गृहमन्त्रालयलाई उद्धत गर्दै स्थानीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोली प्रहारपछि चर्चमा रहेका कोप्टिक समुदायको क्रिस्चियन धर्मावलम्बीहरुमा भागदौड मच्चिएको थियो । घटनालगत्तै सुरक्षा व्यवस्था कडा पारी घटनाबारे अनुसन्धान भैरहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

घटना कस्ले गराएको हो भन्ने खुलेको छैन । इजिप्टमा रहेको १० प्रतिशत अल्पसंख्यक कोप्टिक समुदायको क्रिस्चियनलाई इस्लामिक स्टेट (आइएस)ले निशानामा बनाउदै आएका छन् । यसवर्षमात्रै १०० भन्दा बढी क्रिस्चियन मारिएका छन् । एजेन्सी