८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


झापामा धान उत्पादन बढ्यो


0
Shares

रवीन भट्टराई

झापा, पुस २ । समयमा वर्षा हुनुका साथै बाढी र डुबानको समस्या नभएपछि झापामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष ७ हजार ५ सय २५ मेट्रिक टन बढी धान उत्पादन भएपछि किसानहरु उत्साहित भएका छन् । 

रोग–किराको प्रकोपको कमी तथा उन्नत बीउ र आधुनिक प्रविधि प्रयोगले पनि उत्पादन वृद्धिका लागि सहयोग पुगेको हो । उत्पादनवृद्धिसँगै उत्पादकत्वसमेत वृद्धि भएको छ । यो वर्ष ४.८ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । अघिल्लो वर्षको उत्पादकत्व ४.६९ मेट्रिक टन प्रतिहेक्टर थियो ।

धान उत्पादनका लागि प्रमुख जिल्ला मानिने झापामा यस वर्ष ८७ हजार ६२.५ हेक्टर जग्गामा धानखेती भएको थियो । जसमा ७ लाख १७ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको हो । गत वर्ष सोहि क्षेत्रफलमा ४ लाख १० हजार ३ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्न सकिन्छ । जिल्लामा सरकारले सुपर जोन कार्यक्रम पनि घोषणा गरेकाले धानखेतीको क्षेत्रफल बढ्दै गइरहेको छ ।

जिल्लाका पूर्वी तथा दक्षिणी क्षेत्रका बनियानी, पाठामारी, पथरिया, बालुबाडी, केचना र पृथ्वीनगर गाविसमा धानका निम्ति सुपर जोन कार्यक्रम लागु गरिएको छ ।