इलाम । इलाममा आगामी फागुनमा सञ्चालन गर्न लागिएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण नहुने भएको छ ।
इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा नेपाली सेनाले काँडेतारले बारेपछि फागुनमा हुन लागेको माइभ्याली गोल्डकपको पाँचौ संस्करण नहुने भएको हो ।
माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले पत्रकार सम्मेलन गरेर खेल नहुने जानकारी दिएको हो ।
सेनाले आफ्नो जग्गा सुरक्षित गर्न भन्दै खेलमैदानको माथिल्लो भागमा काँडेतार राखेपछि प्रतियोगिता गराउन असंभव जस्तै भएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।
अखिल नेपाल फुटबल संघ एन्फाले आगामी माइभ्याली गोल्डकपको यो संस्करणलाई आफ्नो क्यालेन्डरमा फागुन २३ गतेदेखि चैत २ गतेसम्म गर्ने गरी स्वीकृती दिएकोे थियो ।
एन्फाले आयोजक माइभ्यालीलाई तोकिएको समयमा प्रतियोगिता सम्पन्न गराउन निर्देशन समेत दिइसकेको छ ।
माइभ्याली गोल्डकप ‘ए’ डिभिजनका फुटबल क्लबले खेल्दै आएको पूर्वी पहाडको ठूलो प्रतियोगिता हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले पनि यो वर्ष मोफसलको प्रतियोगिता गर्नेमध्ये आयोजक माइभ्यालीलाई देशभरको उत्कृष्ट तीनमा राखेको थियो तर आगामी खेल रोक्नुपर्दा इलामे खेल प्रेमीलाइ दुःखी तुल्याउने एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी बताउँछन् ।
तर यता इलामस्थित पशुपति प्रसाद गणका प्रमुख असिमद्धीप गुरूङले तारबार गरेर अझ खेलमैदानको संरक्षण गरेको बताए । तारबार गरेर प्रतियोगिता नै रोक्ने भन्ने नभएको गुरूङको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्