‘राष्ट्रिय एकता र मेलमिलापका निम्ती सामुहिक ‘मृत्युभोज’ खायौं’ « Image Khabar


‘राष्ट्रिय एकता र मेलमिलापका निम्ती सामुहिक ‘मृत्युभोज’ खायौं’


Imagekhabar
१६ पुष २०७४, आईतवार १०:२३

उनको बैचारिक क्षमता, उनले देखाएको आदर्शको बाटो र समृद्ध राष्ट्रको परिकल्पना आज पनि चर्चाको शिखरमा छ । बीपीका विचार र सिद्धान्तहरुलाई समय सापेक्ष रुपममा परिवर्तन गर्दै नेपाली राजनीतिमा प्रयोग हुँदै पनि आइरहेको छ ।

बान्चुन्जेल अत्यन्तै कठिन जीवनका उकाली ओराली हिंडेका बीपीका साथमा को र कति सारथी र सहयात्रीहरु थिए भन्ने अझै गौण छ ।

बीपीलाई ‘होस्टेमा हैसे’ थप्ने पात्रहरु कतिपय अझै जिवित छन् । जिवित रहेपनि गुमनाम छन् । नेपाली राजनीतिमा निष्ठा र आदर्शको पक्षमा वकालत गर्दागर्दै उनीहरुको जिवन गुमनाममै सिमित भएको छ ।

पार्टीबाट संरक्षण त भएन नै तर नयाँ पुस्ताका नेताहरुले पनि वेवास्ताको शिकार बनाएको गुनासो उनीहरुको छ । प्रत्येक बर्षको पुस १६ गते बीपीको मेलमिलाप दिवस मनाइन्छ । मेलमिलाप दिवसका बेला एकदिन ति गुमनाम नेताहरुको सामान्य चर्चा हुँन्छ तर अरु ३ सय ६४ दिन फेरि ओझेलमा पारिन्छ ।

अहिले गुमनाम राखिएको त्यस्ता केही पात्रहरु वीपीका ‘दाहिने हात’ थिए । लडाकु थिए र साहसी थिए । तिनै मध्येका एकजना पात्र कुलबहादुर गुरुङ(केबी) अहिले बीपीकै पथमा हिड्ने आदर्शवादी नेताका रुपमा चिनिन्छन् ।

कांग्रेसले आदर्श विर्सियो, बीपीले देखाएको बाटो विरायो, सिद्धान्त र निष्ठा गुमायो भन्दै केबी गुरुङ अहिले पनि ‘कांग्रेस भित्र कांग्रेस खोजिरहेको छु’ भन्ने फरक अभियानमा छन् ।

बीपीको मेलमिलाप दिवस मनाइरहँदा केबीले देखाएको एउटा साहासपूर्ण कदम सम्झन योग्य छ । मेलमिलाप नीतिका सवालमा संभवत यस्तो कठोर साहस गर्ने हिम्मत गर्ने नेताका रुपमा केबी गुरुङलाई लिन सकिन्छ ।

बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन भए ।

त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर फर्के । आठ वर्षको भारत प्रवासपछि नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

नेपाल फर्किनु अघि केबी गुरुङ बीपीका दुत बनेर नेपाल फर्किएका थिए । नेपाल फर्किनु अघिल्लो रात केबी गुरुङलाई बीपीले गरेको प्रस्ताव र केबीले गरेको साहस निकै मर्मस्पर्सी र त्यागपूर्ण छ ।

यस्तो थियो हाम्रो योजना

नेपाल फर्कनुअघि बीपीको भित्री चाहना आफू नेपाल जानुभन्दाअघि कसैलाई नेपाली कांग्रेसको तर्फबाट नेपाल पठाउने विचारमा हुनुहुन्थ्यो । गणेशमानजीको भनाई अलिक भिन्न थियो । उहाँ भन्नुहुन्थ्यो-यसबेला नेपाल जानु भनेको ‘सुसाइड’ गर्नु र भारत बस्नु भनेको ‘स्लो पोइजन’ हो ।

यता बीपीले बेलाबेला हामीलाई सम्झाएर भन्ने गर्नुहुन्थ्यो ‘संसारमा यसबेला राजनीति गर्नेले एउटा न एउटा जोखिम लिनै पर्छ’ र यतिबेला नेपाल जाँदा ‘कि मरिन्छ कि जेल जानुपर्छ,’ भनेर सम्झाउनुहुन्थ्यो ।

नेपालमा राजनीति गर्छु भन्नेले भने मेरो गर्धन पनि जान सक्छ भन्ने जोखिम लिएर राजनीति गर्नुपर्छ’ भनेर पनि सम्झाइरहनुहुन्थ्यो । उहाँ आफैं नेपाल जान हिम्मत गर्नुहुन्थ्यो । तिमीहरूलाई नेपाल जाऊ पनि म भन्दिनँ’ भन्नु हुन्थ्यो । यति भनेपछि उहाँको मनोविज्ञान हामीले बुझ्यौं । उहाँ कसैलाई दुतका रुपमा नेपाल पठाउन चाहानुहुन्थ्यो ।

उहाँको मनसाय बुझेर हामी नेपाल जान तयार भयौं र जान्छौं भन्यौं । हामीलाई थाहा थियो त्यो समयमा नेपाल जानु भनेको पञ्चायत शासकको गोली खानु हो । तर मर्नु र बाँच्नुको कुनै मतलब नराखी हामी नेपाल जान तयार भयौं र पटनातर्फ गयौं ।

पटनामा अन्तिम भोज

पटना आइसकेपछि बीपीले हामीसँगै बसेर खाना खाने इच्छा राख्नुभयो । पटनाबाट प्लेनमा हामी नेपाल आउने तयारीमा थियौं । त्यबीपीले ‘आज बेलुलका म तिमीहरूसँगै बसेर खाना खान्छु’ भन्नुभयो ।

पटनामा बीपीका निकै नजिकका साथी थिए देवेन्द्रबाबु । उनकै घरमा सुशीला भाउजु, नोना भाउजू गणेशमानजी, शैलजाजी सँगै बसेर खाना खायौं । त्यो रात संभवत हाम्रो अन्तिम रात भएजस्तो लागेको थियो ।

त्यसदिन सामुहिक रुपमा हामीले खाएको खाना मेरा लागि ‘मृत्युभोज’ सरह थियो । गणेशमानजीले उक्त दिनको खानालाई भाचाखुसीमा लगेर खुवाइने दही चिउरा भनेर सज्ञा दिनुभएको थियो । यो भाचाखुसीको बेग्लै कहानी छ ।

गणेशमानजीले भन्न खोज्नुभएको ‘तिमीहरूको लागि यो अन्तिम खाना हो’ भन्ने हो । त्यस्तो भनाईले बीपी स्तब्ध हुनुहुन्थ्यो । केही बोल्नुभएको थिएन । सामुहिक बसेकाहरु सबै मौन थिए ।

त्यसपछि हामी तीन जना म, बासु कोइराला र धर्म गौतम नेपाल फर्कने तयारी भयौं । भोलीपल्ट विहान हामीहरू नेपालतर्फ आयौं । उहाँहरु पटनाबाट अन्यत्रै जाने तयारीमा लाग्नुभयो । पटना एयरपोर्टबाट हामी प्लेनबाट काठमाडौं ओर्लियौं ।

त्यसपछि २५ दिन थुनामा

काठमाडौं उत्रिए लगत्तै हामी पक्राउ पर्‍यौं । हामीलाई २५ दिनसम्म हनुमानढोकामा थुनियौं । हनुमान ढोकामा धेरै समय विताउनु परेन । मलाई र धर्म गौतमलाई झापा तिर सारियो । बासु कोइरालालाई काठमाडौंमै राख्यो ।

झापा पुर्‍याए लगत्तै मलाई मार्ने भन्ने हल्ला सुनियो । सोही बेला क्याप्टेन यज्ञबहादुर थापालाई मार्‍यो । सरोज कोइराला मारिएका थिए । धर्म र मलाई मध्ये एकजनालाई मार्ने भन्ने हल्ला ब्यापक भयो ।

यस्तो हल्ला सुनेपछि २०३५ सालतिर मेरो भाइ हेम गुरुङले मेरो जहान(श्रीमती)लाई ‘अब दाइसँग अन्तिम भेटघाट गर्न जाऔं भाउजू’ भनेका थिए रे ।

तर भाग्यवश नै भन्नुपर्छ, म र मेरो जहानले भेटघाट गरेको हप्ता दस दिनभित्रै जनमतसंग्रहको घोषणा भयो । जनमतसंग्रहको घोषणा भएपछि हामी रिहा भयौं । र आजसम्म बाचिरहेको छु ।

(भिडियोमा हेर्नुहोस मर्मस्पर्शी अन्तरबार्ता)

 

 

 

प्रतिक्रिया दिनुहोस्